८ कार्तिक २०८१, बिहिबार

एनसेल फाउन्डेसनले समुदायको विकासमा रु. १ करोड ९० लाख भन्दा बढी योगदान गर्दै

प्रकाशित मिति :  24 October, 2024 9:28 pm


काठमाडौँ । स्थानिय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप, एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ ।

एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन अनुरोध गरेको हो ।

गतवर्ष १८औं वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रम अन्तर्गतका परियोजनाहरु प्रदेश स्तरमा सञ्चालनमा रहेका छन् । यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानीय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस पहल अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागु गरिनेछन् ।

‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने र छनौटमा परेका प्रत्येक एक परियोजनालाई रु. १० लाख अनुदान प्रदान गरिने उल्लेख गरिएको छ । यस पहलका लागि कुल योगदान रु १ करोड ९० लाखको हुने कम्पनीले जनाएको छ ।

एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानिय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो ।

यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्व राख्ने जनाएको छ । एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।

“एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजना मार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं । हामी सामुदाय स्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं ।” एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, “नाइन्टिन फर नाइन्टिन पहल मार्फत, हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथदिने हाम्रा समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरु कार्यन्वयन गर्न प्रतिबद्घ छौ । यो पहलले स्थानिय स्तरमा महत्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौं ।”

गतवर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ । यस वर्षका परियोजनाहरुले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उदेश्यहरु हाषिल गर्न लागि योगदान पुर्याउने उदेश्य एनसेलको छ ।

अनुदान अर्थात परियोजना प्रस्तावका लागि आवेदन दिन इच्छुक योग्य संघसंस्थाहरूले एनसेल फाउन्डेसनको वेबसाइटमा गई ‘एप्लाई फर ग्रान्ट’मा क्लिक गरेर आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !