९ कार्तिक २०८१, शुक्रबार

विज्ञान विषयमा केन्द्रित अनलाइन पत्रिका ‘सम्सारा सोसियल’ संचालनमा

प्रकाशित मिति :  25 October, 2024 10:52 am


काठमाडौँ । विज्ञान विषयमा केन्द्रित रहेर सम्सारा सोसियल (samsara.social) अनलाइन पत्रिका संचालनमा आएको छ । विज्ञान विषयमा रूचि भएका विद्यार्थीहरुलाई केन्द्रित गरी पत्रिका नेपाली र अंग्रेजी दुबै भाषामा संचालनमा ल्याइएको छ।   

उच्च शिक्षाको लागि सन् २०११ मा अमेरिका गएका विश्व किरण गिरीले उक्त पत्रिका सञ्चालनमा ल्याएका हुन । उनले संयुक्त राज्य अमेरिकाको द युर्निर्भसिटी अफ नर्थ क्याराेलिना एट ग्रीन्सबोरोबाट जीवविज्ञानमा विद्यावारधी गरेका छन् । नेपालमा बन विज्ञानमा स्नातकसम्मको अध्ययन पश्चात अमेरिका पुगेका उनले आफ्नो अध्ययनको क्रममा जीव विज्ञानको क्षेत्रमा अनुसन्धान गर्दै “लाइफ हिस्ट्रि इभाेलुसन” अर्थात् “जीवन इतिहास विकास” मा अध्यन तथा अनुसन्धान गरेका छन् । त्यसो त उनी आइटी विषयका जानकार समेत रहेका छन् । वेबसाइटको प्रारम्भिक डिजाइन र एप समेत उनी आफैँले बनाएका हुन् ।

इभोलुसन विषयमा गरेको अध्ययन र योगदानको कारण गिरी “सोसाइटी फर स्टडी अफ इभोलुसन”  (एस.एस.ई) अमेरिकाको सदस्य समेत रहेका छन् । उनको अनुसन्धान विकासवादी मोडेल जीव (Arabidopsis lyrata) प्रयोग गरी “जीवन इतिहास दुविधा” (Life History Trade of) को आनुवंशिक आधार पहिचान गर्नमा केन्द्रित थियो ।

अध्ययनको क्रममा डा. गिरीले जीवविज्ञान अनुसन्धानमा प्रयोग गरिने आधुनिक र क्रान्तिकारी प्रविधिहरू, जस्तै-जीनोमिक्स, ट्रान्सक्रिप्टोमिक्स र बायोलिनफर्मेटिक्सको प्रयोग गर्ने अवसर प्राप्त गरे। अध्ययनका क्रममा नवीनतम अनुसन्धान विधिहरू र उपकरणहरू प्रयोग गर्दै गर्दा, उनले महसुस गरेर, कुनै पनि विषयलाई व्यापक रूपमा बुझ्न पाठकको मातृभाषामा अध्ययन सामग्री उपलब्ध हुनु अत्यावश्यक रहेछ, भन्ने बाेध भएको  उनले बताए ।

उनले नेपाल जस्तो देशमा विज्ञान शिक्षाको प्रवर्धनलाई सीमित पार्ने मुख्य कारकहरू मध्ये एक नेपाली भाषामा सामान्य विज्ञानका विषयवस्तुको सीमित उपलब्धता महशुस गरे । नेपालीभाषीहरूलाई लक्षित गर्ने र नेपाली सामाजिक सन्दर्भलाई सम्बोधन गर्ने कुनै विज्ञानका अध्ययन सामाग्री सुलभ रूपमा उपलब्ध नभएकोले विषय केन्द्रित पत्रिका संचालन ल्याएकाे उनकाे भनाइ छ ।

गिरिका अनुसार, नेपालमा बोर्डिङ स्कुलमा अङ्ग्रेजी पढ्नेहरूले सजिलैसँग सबै कुरा बुझ्छन् र विज्ञान पनि उत्तिकै राम्रोसँग बुझेका हुन्छन् तर त्यो सत्यता छैन । उनले कुनै पनि समाजको दैनिक संवादको भाषामा नयाँ र जटिल विषयवस्तु पढ्न, सुन्न, र छलफल गर्न अवसर पाएनौं भने, हाम्रो त्यो विषयको बारेमा रहेको ज्ञानमा धेरै त्रुटिहरू उत्पन्न हुने बताए ।

डा. गिरी भन्छन् “जीनोमिक्स, बायोइन्फर्मेटिक्स, र नेक्स्ट जेनरेशन सिक्वेन्सिङ डाटाजस्ता उदीयमान क्षेत्रहरूद्वारा उपलब्ध गराइएका नयाँ युगका प्रविधि र उपकरणहरू प्रयोग गर्ने अवसर पाउँदा भाग्यमानी महसुस गर्नेछन् ।”

अध्ययन क्रममा उनले नेपालमा विज्ञान शिक्षाको जग कमजोर भएको महसुस गरे । अङ्ग्रेजीमा जटिल अवधारणाहरू बुझ्नु चुनौतीपूर्ण रहेको महशुस गरे । ग्रामीण क्षेत्रमा विज्ञान र त्यसले प्रस्तुत गरेका तथ्यहरू बुझनमा झनै समस्या रहेको उनको अनुभव छ।

उनी स्वयँम बोर्डिङ स्कुलकै विद्यार्थी रहेका थिए तर उनी जब अमेरिकामा पढ्न थाले त्यसपछि उनलाई अनुभूति भयो नेपालमा पढाइने विज्ञान विषयको आधारभूत ज्ञान कमजोर रहेकाेले विज्ञान विषयमा सम्बन्धित रहेर लेख लेख्ने र त्यसलाई विद्यार्थीहरुसम्म पुराउने  परिकल्पना गरेर सम्सारा सोसियल भन्ने अनलाइन पत्रिकाको अवधारणा तयार गरेका हुन्।

सन् २०२० बाट उनले सम्सारा सोसियल वेबसाइट बनाएर एकल रूपमा काम गर्न थाले । सकारात्मक प्रतिक्रियासँगै नेपालमा ८ जनाको पूर्णकालिन टीम बनाएर काम भैरहको उनले जानकारी गराए । विज्ञान विषयमा केन्द्रित रहेपनि साहित्य र कलालाइ समेत स्थान दिने गरेको प्रधान सम्पादक उपदेश भट्टले बताए । मूलतः अंग्रेजीमा लेख्ने गरेता पनि ती सामाग्रीलाइ नेपालीमा पनि प्रकाशित गर्दै आएको उनले बताए । ती सामाग्रीलाइ नेपाली र अंग्रेजीमा अडियो सामग्री बनाउने र ती सामग्रीलाई पुनः भिडियो सामग्री बनाएर पस्किने गरेका छन् ।

अहिलेसम्म उक्त अनलाइन पत्रिका पढ्ने पाठकहरूको प्रतिक्रिया सकारात्मक रहेको छ । भट्टले भने “अहिलेसम्मको सकारात्मक प्रतिक्रियाले गर्दा निरन्तरता दिन थप उत्साहित छौं”। भट्टका अनुसार उक्त अनलाइन संचालनमा अहिलेसम्म गिरिले मात्र व्यहोर्दै आएको भएपनि निकट भविष्यमा सामूहिक लगानी गरेर निरन्तरता दिने बारेमा छलफल भइरहेको बताए । 



प्रतिक्रिया दिनुहोस !