उपनिर्वाचनमा उम्मेदवारका लागि खर्च सीमा निर्धारण, कुन पदका उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?
काठमाडौँ । नेपाल निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गतेका दिन हुने स्थानीय तह उपनिर्वाचनका उम्मेदवारहरूका लागि खर्चको हद निर्धारण गरेको छ।
आयोगले २०७३ सालको स्थानीय तह निर्वाचन ऐनको दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० अनुसार कार्तिक ७ गते खर्च सीमा तोकेको हो। यस अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचन परिणाम घोषणा हुने समयसम्ममा निश्चित रकमभन्दा बढी खर्च गर्न नपाउने व्यवस्था गरिएको छ।
निर्धारित खर्च सीमा अनुसार महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम सात लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। त्यस्तै, उपमहानगरपालिका प्रमुख र उपप्रमुखका लागि पाँच लाख ५० हजार नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि चार लाख ५० हजार, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका लागि तीन लाख ५० हजार, र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखका लागि ५० हजार रुपैयाँसम्मको खर्च सीमा तय गरिएको छ।
त्यस्तै वडा अध्यक्ष पदका उम्मेदवारहरूको लागि पनि खर्च सीमा निर्धारण गरिएको छ। महानगरपालिका वडा अध्यक्ष पदका उम्मेदवारले अधिकतम तीन लाख रुपैयाँ, उपमहानगरपालिका वडा अध्यक्षका लागि दुई लाख ५० हजार, नगरपालिका वडा अध्यक्षका लागि दुई लाख, र गाउँपालिकाका वडा अध्यक्षका लागि एक लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउनेछन्।
यस घोषणाबाट उम्मेद्वारहरूलाई खर्चमा मितव्ययिता अपनाउन प्रेरित गर्ने र निर्वाचनको पारदर्शिता सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।