९ कार्तिक २०८१, शुक्रबार

कार्तिक ११–१२ मा एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ हुँदै

प्रकाशित मिति :  25 October, 2024 4:26 pm


काठमाडाैँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को वार्षिक साधारण सभा यही कार्तिक ११ र १२ गते काठमाडौँमा हुने भएको छ ।

एनआरएनएले शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । एनआरएनए ग्लोवल कन्क्लेभ–२०२४ समेत आयोजना हुने सो सभामा संघ भित्रको असन्तुष्टि पनि सम्बोधन गर्ने मुख्य एजेण्डा तय गरिएको एनआरएनएका अध्यक्ष डा. बद्री केसीले बताए । संघभित्र रहेका असन्तुष्टिहरूलाई सम्बोधन गर्ने भएकाले सो साधारण सभालाई एकताको साधारण सभाको रुपमा पनि नामाकरण गरिएको उनको भनाइ थियो ।

अध्यक्ष केसीले भने,”विधिवत रूपमा संस्थामा केही समस्याहरु छन् भने त्यसमा छलफल गर्ने ठाउँ नै साधारण सभा हो । त्यसकारण पनि यो संस्थामा भएका साथीहरु असन्तुष्ट साथीहरुको लागि पनि, उहाँहरूको के विषयमा असन्तुष्टि हो, विधानको कुन धारामा उहाँहरुको असन्तुष्टि हो, निर्वाचन प्रणालीमा कहाँ असन्तुष्टि हो ? यी सबै विषयमा हामी छलफल गरेर सहमतीमा आउँछौं भन्ने विश्वास लिएका छौँ । त्यसकारण हामीले यसलाई एकताको साधारण सभा पनि भनेका छौं ।”

सो साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने एनआरएनएले जनाएको छ । साधारण सभामा नेपालमा आर्थिक रुपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता र मताधिकार, नेपाली मुलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धि विषयमा छलफल हुने एनआरएनएले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !