९ कार्तिक २०८१, शुक्रबार

भारतबाट अवैध रूपमा ल्याइएका ५ हजार १ सयभन्दा बढी फूलका बिरुवा नष्ट

प्रकाशित मिति :  25 October, 2024 4:56 pm


काठमाडौँ । भारतबाट अवैध रूपमा ल्याइएका ५ हजार १ सयभन्दा बढी फूलका बिरुवा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ। विराटनगर महानगरपालिका वडा नम्बर १४ मा रहेको हिरा अन्सारीद्वारा सञ्चालित डायमण्ड नर्सरीमा भित्र्याइएका १२ प्रजातिका बिरुवाहरू हिजो (बिहीबार) सशस्त्र प्रहरीले नष्ट गरेको हो।

यूपी ६३ एटी ४६७६ नम्बरको भारतीय ट्रकबाट ल्याइएका ती बिरुवाहरू सशस्त्र प्रहरी बलले मंगलबार राति नियन्त्रणमा लिएको थियो। बिरुवाहरू भारतबाट कोकोपिट (नरिबलको बोक्रा तथा काठको धुलो) मा ल्याउनुपर्नेमा, गमलासहित माटोसहित ल्याइएकाले ती बिरुवाहरू अवैध ठहरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

बरामद गरिएका बिरुवामा एरिका प्लामका ७ सय थान, रेड क्याकिरा ५ सय, टिकोम १ हजार, एडेम्म ४ सय, क्रोटोन १ सय, एम्सेवर २ सय, गोल्डेन पाइन २ सय, फिकस लाराटा ५ सय, फोक्साइल्ड प्लाम ४ सय, फिस्टेज प्लाम ४ सय र अन्य प्रजातिका बिरुवाहरू रहेका छन्। तीमध्ये ६ सय बिरुवामात्रै माटोसहित फेला परेका थिए भने बाँकी बिरुवामा कोकोपिट प्रयोग गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !