१० कार्तिक २०८१, शनिबार

मुलुकमा रातारात रोजगारी सृजना गर्ने अवस्था छैनः मन्त्री भण्डारी

प्रकाशित मिति :  26 October, 2024 9:22 am


काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा रातारात रोजगारी सृजना गर्नसक्ने अवस्था नरहेको बताएका छन्।

शुक्रवार सिंहदरबारमा मन्त्रालयका गरेका सय दिनको उपलब्धिबारे जानकारी गराउने क्रममा उनले रोजगारीको अवसर सृजना गर्नका लागि सरकारले भएको सम्भावनाहरुको खोजी गर्ने र त्यसलाई व्यवस्थित ढंगले अघि बढाउने गरी प्रविधिको विकासमा जोड दिएको दाबी गरे ।

मन्त्री भण्डारीले सरकारले रोजगारीका सबै अवसरबारे आम जनतालाई जानकारी गराउनका लागि पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रलाई उपयोग गर्ने कामलाई अघि बढाएको बताए।

उनले रोजगारीको अवसर लुकाउने, छिपाउने काम भएको भन्ने गुनासो आएपछि आफूहरुले पालिकाहरुमा रहेका रोजगार सेवा केन्द्रमा ती सबै सूचना पुग्नेगरी एकीकृत सूचना प्रणालीको विकासमा लागेको बताए।

मन्त्री भण्डारीले भने, “हामीले अहिलेको अवस्थामा रातारात रोजगारी सृजना गर्ने अवस्था पनि छैन । तर जहाँजहाँ सम्भावना छ, त्यसका लागि व्यवस्थित गर्दै अघि बढ्नका निम्ति मलाई हौसला भएको छ । कुन देशमा जाने, कहाँ काम गर्ने, कस्तो काम छ भन्नेकुरा कसरी जान्न सकिन्छ ? भन्ने बारेमा हामी लागेका छौं ।”

मन्त्री भण्डारीले आन्तरिक रोजगारलाई व्यवस्थापन गर्न, प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गर्ने कामलाई आफूले जोड दिएको पनि बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !