१० कार्तिक २०८१, शनिबार

मदरसा शिक्षालाई सुधार गरेका छौं–मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  26 October, 2024 5:24 pm


भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक सशक्तिकरणका लागि समानता र अधिकार सुनिश्चित गरेर सरकारले काम गरिरहेकोे बताएका छन् ।

रुपन्देहीको भैरहवामा मुस्लिम समुदायको अधिकारको बारेमा आयोजना गरिएको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मुस्लिम समुदायको विकास तथा सशक्तिकरणका लागि समानता र अधिकार सुनिश्चित गरेर प्रदेश सरकार अघि बढेको बताएका हुन् ।

लुम्बिनी प्रदेश सरकारले मदरसा शिक्षालाई सुधारेको मुख्यमन्त्री आचार्यको भनाइ छ । मुस्लिम समुदायका बालबालिकाको शिक्षामा समान पहुँच बढाउन छात्रावृत्तिको व्यवस्था गरेको, छोरीहरुलाई शिक्षामा पहुँच बढाउन छात्रावास स्थापना गरेको समेत जानकारी दिए ।

‘‘प्रदेश स्थापना भएपछी मदरसा शिक्षालाई जोड दियौं । मदरसाको भौतिक सुधार ग¥यौं । त्यहाँ शिक्षाको गुणस्तर सुधार्न पनि ध्यान दियौं । मुस्लिम विद्यार्थीलाई छात्रावृत्ति र छात्रावासको समेत निर्माण गर्न प्रदेश सरकारले लगानी गरेको छ’’, उनले भने, ‘‘शिक्षा क्षेत्रमा अगाडि बढाउन प्रदेश सरकारले लागेपुगे सम्मको सहयोग गरेको छ ।’’

प्रदेश सरकारले मुस्लिम समुदायलाई निजामती क्षेत्रमा आकर्षीत गर्न सात प्रतिशत आरक्षणको व्यवस्था गरेको समेत मुख्यमन्त्री आचार्यले बताए । ‘‘प्रदेश सरकारले मुस्लिम समुदायको सशक्तिकरणका लागि ध्यान दिएको छ । निजामती सेवामा आकर्षीत गर्न ७ प्रतिशत आरक्षण सुनिश्चित गरेका छौं’’, उनले भने, ‘‘नीति, नियम तथा कार्यक्रमबाट मुस्लिम समुदायको अधिकार सुनिश्चित गर्नेगरी सरकारले काम गरिरहेको छ ।’’

छोरीहरुको शिक्षामा मुस्लिम समुदायले विशेष ध्यान दिनुपर्ने बताए । ‘‘छोरीहरुलाई शिक्षामा अगाडि बढाउन समुदायबाट नै विशेष ध्यान दिनुपर्छ । सरकारले वातावरण निर्माण गरेको छ । छात्रावास बनाएको छ । छात्रावृत्ति दिएको छ । छोरीहरुलाई विद्यालयमा पढ्न पठाउनुस्’’, उनले भने, ‘‘समुदायका अगुवाहरुनै बढी संवेदनशिल हुन जरुरी छ ।’’

प्रदेशका ६ जिल्लामा पोषण कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै गर्भवती र सुत्केरी आमाहरुलाई यो कार्यक्रममा जोड्न आह्वान गरे ।



प्रतिक्रिया दिनुहोस !