१० कार्तिक २०८१, शनिबार

सुक्ष्म अध्ययन र अनुसन्धान नगरी अदालत अन्तर्यमा पुग्नु हुँदैन-प्रधानन्यायाधीश

प्रकाशित मिति :  26 October, 2024 7:08 pm


काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायिक क्षेत्रको खोज र अध्ययन गर्न सकियो भने समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिने बताउनुभएको छ ।

सर्वाेच्च अदालतको सम्पादन तथा प्रकाशन शाखाको आयोजनामा आज काठमाडौँमा आयोजना भएको ‘नेपालको कानुनी तथा न्यायिक इतिहाससम्बन्धी कार्यशाला’लाई सम्बोधन गर्दै प्रधानन्यायाधीश राउतले खोज र अनुसन्धानले नेपालको कानुनी प्रणालीमा आएको विधिशास्त्रीय विकासक्रमको तुलना गर्न सहयोग पुग्ने बताउनुभयो ।

सर्वाेच्च अदालतले पनि कानुन र न्यायिक इतिहासको खोज तथा अनुसन्धानलाई अघि बढाइएको जानकारी दिँदै उहाँले कुनै पनि विषयमा सुक्ष्म अध्ययन, खोज र अनुसन्धाान नगरी अन्तरयमा पुग्न नसकिने जिकिर गर्नुभयो । उहाँले कानुन तथा न्यायिक इतिहासका बारेमा नागरिकलाई जानकारी गराई मौलिक विधिशास्त्र उजागर गर्दै कानुनी ज्ञानको प्रवर्द्धन गर्नेतर्फ महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

सर्वाेच्च अदालतले प्रधानन्यायालयबाट भएका केही फैसलालाई नेपाली भाषामा उतारेर सर्वाेच्चको वेबसाइटमा प्रविष्ट गर्ने कार्यको सुरुआत गरी यसलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश राउतले यसले प्रधानन्यायालयबाट भएको फैसला सबैका लागि पहुँचयोग्य भएको र यो न्यायिक इतिहासमा कोसेढुङ्गा सावित भएको उल्लेख गर्नुभयो । नेपालको इतिहासमा न्याय प्रणाली धर्ममा आधारित रहेको उल्लेख गर्दै उहाँले यी कानुनी दस्ताबेज हालका कानुनका आधार भएको स्मरण गर्नुभयो ।

नेपालमा संहिताबद्ध कानुनको विकास हेर्दा विसं १९१० मा पहिलो पटक जङ्गबहादुरको पालामा एकीकृत कानुनकारुपमा आएको उल्लेख गर्दै उहाँले हाल प्रचलनमा रहेको कानुन ती कानुनको निरन्तरताको रुपमा रहेको जानकारी गराउनुभयो ।

कानुन र न्याय प्रणाली समय, काल, परिस्थिति र सामाजिक परिभेषअनुसार परिमार्जन हुँदै जाने बताउँदै प्रन्या रावतले यो क्रममा ऐतिहासिक र राम्रा कानुनको अनुसरण गरिने पनि बताउनुभयो ।

आजको कार्यक्रमले कानुन र न्यायिक इतिहास बुझ्न सहयोग गर्ने जानकारी गराउँदै उहाँले नेपालको कानुन र न्याय प्रणालीलाई परिस्कृत र मौलिक बनाउन यस कार्यक्रमले सहयोग गर्न विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा इतिहासविद् प्राडा त्रिरत्न मानन्धरले नेपालको कानुनको विकासक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा अर्का इतिहासकार दिनेशराज पन्तले पनि कानुनको विकासक्रमका बारेमा धारणा राख्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !