११ कार्तिक २०८१, आइतबार

गोदावरी पुष्प मेला आज अन्तिम दिन, तीन दिनमा ३२ हजारले गरे अवलोकन

प्रकाशित मिति :  27 October, 2024 8:58 am


काठमाडौँ। ललितपुरको जावलाखेल मैदानमा जारी १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको यो वर्षको आज अन्तिम दिन चल्दैछ ।

शनिवारसम्म मेलाको ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् भने तीन दिनमा ९० लाखको कारोबार भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जानकारी दिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा कार्तिक ८ गते देखि सुरू भएको मेलामा पहिलो दिन ६ हजार ९०० जनाले अवलोकन गर्दा २५ लाखको कारोबार भएको एसोसिएसनले जनाएको छ ।

दोस्रो दिन अर्थात ९ हजार ८ सय जनाले अवलोकन गर्दा २५ लाख रुपैयाँ बराबरको कारोबार भएको र तेस्रो दिन शनिवार १५ हजार ९ सय जनाले अवलोकन गर्दा ५० लाखको कारोबार भएको एसोसिएसनका संयोजक जेबी तामाङले बताए।

आजसम्म चल्ने मेलामा कुल ४० हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने तथा एक करोड भन्दा बढीको व्यवसायीक कारोबार हुने प्रक्षेपण एसोसिएसनको रहेको छ ।

पुष्प व्यवसाय प्रवर्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको हो ।

नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालका निवर्तमान अध्यक्ष मिनबहादुर तामाङले बताए ।

विगत वर्षमा झैँ यस वर्ष पनि गोदावरी फूलको ४ वटा विधा (मिनियचर, रिफ्लेक्स, स्पाईडर र ईनकर्भ) मा प्रतिस्पर्धा गराइएको छ । मेलामा अपेक्षा भन्दा बढीको अवलोकन र कारोबारले आफूहरु उत्साहित भएको मेला संयोजक रामबहादुर तामाङले बताए।

कुनै समय नेपालमा सौखका रूपमा मात्रै प्रयोग गरिने फूल खेती पछिल्लो समय व्यवसायिक ढंगले फस्टाउँदै गएको छ। फूल खेतीबाट आत्मनिर्भर बन्न सकिने सम्भावनाले नयाँ व्यवसायीहरू यस क्षेत्रमा आकर्षित भइरहेका छन्।

व्यवसायिक फुल खेतीतर्फको यो रुचि र लगानीले यस उद्योगलाई थप विस्तार गर्ने संकेत गरेको छ। नेपालमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरू भएको पुष्प व्यवसाय, शहरीकरणको विकास तथा विस्तारसँगै सातै प्रदेशका मुख्य शहरहरू लगायतका अन्य क्षेत्रमा समेत फैलदो अवस्थामा रहेको छ ।

हाल ५२ जिल्लामा लगभग २६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय गरिरहेका छन् भने १ हजार १७४ भन्दा बढी पुष्प व्यवसायीहरू संलग्न रहेको यस व्यवसायमा ८ अर्ब ८३ करोड भन्दा बढीको लगानी रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !