प्रचण्डलाई ओलीको जवाफः हतियार कसरी बिसाउन लगाउने हामीलाई थाहा छ
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई नधम्क्याउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
आइतवार काठमाडौँमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नागरिकलाई धम्क्याएर पुनः सत्ता प्राप्ति गर्छु भन्ने नठान्न चेतावनी दिएका हुन् । अध्यक्ष दाहाललक्षित टिप्पणी गर्दै उहाँले शनिवार काठमाडौंमा माओवादी केन्द्रले गरेको खबरदारी सभामा दाहालले आफूहरूले हतियार चलाउन नबिर्सिएको र बिसाएको मात्रै भन्ने शब्दहरू प्रयोग गर्दै भाषण गरेको भन्दै हतियार कसरी बिसाउन लगाउने भन्नेकुराको राम्रो ज्ञान आफूलाई रहेको बताए । उनले धम्क्याएर खान पाउने भ्रम अब नपाल्न आग्रह गरे ।
“हिजो एक जन उफ्रिउफ्रिकन भाषण गर्दै थिए । हिजो मात्रै हो । हतियार बिसाएको मात्रै हो । भ्रम नरहोस् । चलाउन बिर्सिएको छैन । त्यस्तै त्यस्तै त हामी हुनु भएन नि । धम्क्याएका भरमा खाने, म त्यसलाई फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ तरिका थाहा छ पनि नभनौँ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छ हामीले । कसरी बिसाउने भनेर,”उनले भने ।
प्रधानमन्त्री ओलीले एनआरएनएमा कुनै राजनीतिक दल र सरकारको हस्तक्षेप नहुने बताए । उनले ढुक्क भएर आफ्ना कार्यक्रमहरु स्वतन्त्र रुपमा गर्न आग्रह समेत गरे । उनले आफू एमालेको प्रधानमन्त्री नभइ देशको प्रधानमन्त्री भएकाले प्रधानमन्त्रीको रुपमा कसैप्रति पनि भेदभाव गर्न नहुने बताए ।