११ कार्तिक २०८१, आइतबार

लुम्बिनीलाई एक वर्षभित्र सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्ने मुख्यमन्त्री आचार्यको अठोट

प्रकाशित मिति :  27 October, 2024 4:40 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई आगामी वर्ष सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त प्रदेश बनाउन सरकारले अठोट लिएको बताएका छन् ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ सम्वोधन गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले आगामी वर्ष प्रदेशलाई सहयोगापेक्षी, सडक आश्रित मानवमुक्त घोषणा गर्नेगरी कार्यक्रम अघि बढाउने बताएका हुन् ।

मानव सेवा आश्रमको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार स्वागत गर्दै मुख्यमन्त्री आचार्यले मानव भएर मानवको हिसावले बाँच्न पाउने वातावरण सुनिश्चित गरिने बताए ।

‘‘यहाँहरुले थालेको अभियानमा प्रदेश सरकारको साथ सहयोग छ । मानव भएर मानवको हिसाबले बाँच्न पाउनुपर्छ’’, उनले भने, ‘‘प्रदेश सरकार साझेदारी रुपमा यो अभियानमा जोडिन चाहन्छ । हामी आउने वर्ष लुम्बिनी प्रदेशका सडकमा बास बस्ने मानिस नरहनेगरी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरेर अघि बढ्छौं ।’’

लुम्बिनी प्रदेशभित्र रहेका मानव सेवा आश्रमको विवरण र त्यहाँ आश्रितहरुको विवरण संकलन गरिने समेत जानकारी दिए । असोज २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि २७ गते झापाको मेची पुलबाट सुरु भएको उद्दारटोली १३ औं दिनमा लुम्बिनी प्रदेशको राजधानी स्थल राप्ती उपत्यका देउखुरी आई पुगेको हो ।

अभियानको क्रममा एक सय २८ सडक आश्रित मानवको उद्दार गरिएको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुबाट हाल सम्म २८ जना सडक आश्रित मानवहरुको उद्दार गरिएको मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशको रुपन्देही, बाँके र दाङ जिल्लामा मानव सेवा आश्रम सञ्चालनमा छन् ।

यात्रामा रहेको उद्दार टोलीमा सहभागीहरुलाई मुख्यमन्त्री आचार्यले स्वागत सम्मान गरेका छन् । आचार्यले टोलीमा सहभागी आनी छोइङ डोल्मा फाउन्डेसनका अध्यक्ष तथा चर्चित गायक आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए । स्वागत कार्यक्रममा प्रमुख सचिव महादेव पन्थ, सचिवहरु कृष्ण पौडेल, ईश्वरराज पौडेलको समेत सहभागीता थियो ।

सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका सडक आश्रित सहयोगापेक्षीहरूको उद्दारका लागि मानव सेवा आश्रमले हरेक वर्ष मेची महाकाली राष्ट्रिय उद्दार यात्रा गर्दै आएको छ । यात्रामा ५० जना यात्री अर्थात् उद्दारकर्मीहरु रहेका छन् ।

मानवसेवा आश्रमको ७ वटा प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्रहरू सञ्चालनमा छन् । पहिलो मेची महाकाली राष्ट्रिय उद्दार यात्राको क्रममा ७ सय ५८ जनाको उद्दार भएको थियो, भने अघिल्लो वर्ष भएको मेची महाकाली राष्ट्रिय उद्दार यात्राको क्रममा ३ सय ४ जनाको उद्दार भएको थियो ।

उद्दार यात्राको खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले सौजन्य गरेको छ । मानव सेवा आश्रमले आउँदो वर्ष अर्थात् २०८२ सालभित्र नेपाललाई सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न नपर्ने देश निर्माण गर्ने सङकल्प गरेको छ ।



प्रतिक्रिया दिनुहोस !