११ कार्तिक २०८१, आइतबार

सरकारले मुलुकमा अराजकता चल्न दिँदैनः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  27 October, 2024 5:55 pm


काठमाडाैँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झुट र बेइमान कुरा गर्नेहरूलाई उत्तरदायी बनाउने चेतावनी दिएका छन् ।

रवि लामिछानेको पक्षमा सडकमा प्रदर्शन गरिरहेकाहरूप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकारले घृणा फैलाउने, राष्ट्रिय एकता बिथोल्ने खालका भाषण र जथाभावी बोल्ने कुराहरूलाई उत्तरदायी बनाउने बताएका हुन् । एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आइतवार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्वसुरक्षाकर्मीहरूको भुमिका विषयक विचार गोष्ठीमा बोल्दै उनले आफू नेतृत्वको सरकार गलत सूचना दिएर मुलुकमा भ्रम फैल्याउनेहरुलाई तह लगाउने हैसियतमा रहेको पनि बताए ।

सरकार कमजोर नभएकाले समाजमा अराजकता मच्चाउन खोज्नेहरूलाई उत्तरदायी बनाउने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले मुलुकका आन्तरिक सुरक्षा कमजोर अवस्थामा पुगेकाले त्यसलाई बलियो बनाउन सरकार लागिपर्ने बताए । प्रधानमन्त्री ओलीले आफ्नो साख गिर्‍यो भन्नेहरू कसैद्वारा परिचालित भएको जिकिर गरे। उनले एमाले र आफ्नो साख माटोमा मिलेको भन्नेहरुलाई २०८४ सालको निर्वाचनमा देखाइदिने बताए। एमालेको साख नघटेको र आफूहरुले नै राष्ट्रिय राजनीतिकलाई नेतृत्व गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !