१२ कार्तिक २०८१, सोमबार

काठमाडौँको दर्शन सहकारी समस्याग्रस्त घोषित

प्रकाशित मिति :  28 October, 2024 12:38 pm


काठमाडौँ । बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले काठमाडौँको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ। सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासोका कारण प्रदेश सहकारी ऐन २०७६ अन्तर्गत यो निर्णय गरिएको हो।

बचतकर्ताको उजुरीपछि भएको छानबिनका आधारमा २०८१ भदौमा बचतकर्ताको एक समूहले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो।

दर्शन सहकारीको कुल सम्पत्ति १ अर्ब ५७ करोड रुपैयाँ र सदस्य संख्या ९ हजार ८५७ रहेको छ। सहकारीको जम्मा बचत दायित्व ८६ करोड ८० लाख रुपैयाँ र ऋण लगानी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। अब यसको व्यवस्थापन प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !