सरकारलाई काँग्रेस महामन्त्री थापाको आग्रहः काँग्रेसका गुरुङ र एमालेका पोखरेलमाथि पनि तत्काल अनुसन्धान गर्नुस्
काठमाडाैँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न काँग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
सहकारी छानविन संसदीय समितिले काँग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानविन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।
उनले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताए । सोमवार नेपाल राष्ट्र बैंकले काठमाडाैँमा आयोजना गरेको दशैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताए ।