अपराधिक कार्यको अनुसन्धान र कारबाही तथ्य हेरेर गरिन्छः गृहमन्त्री लेखक
काठमाडाैँ ।गृहमन्त्री रमेश लेखकले अपराधिक कार्यमा संलग्न हुने सबै मानिसमाथि अनुसन्धान हुने बताएका छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले अपराधिक कार्यमा संलग्न व्यक्तिमाथि अनुसन्धान गर्न लाखा पाखा नगर्ने बताएका हुन् । उनले त्यस्ता मानिसमाथि कारबाही गर्न सत्तापक्ष र प्रतिपक्ष भनेर नहेरिने स्पष्ट पारे ।
उनले अपराधिक कार्यको अनुसन्धान र कारबाही मानिसको मुख हेरेर नभइ तथ्य हेरेर गरिने बताए । उनले तथ्य र प्रमाणले जता लान्छ, अनुसन्धान त्यतै जाने भन्दै प्रमाण अनुरुप कारबाही हुने बताए । उनले सरकारले कानुनको परिधिभन्दा बाहिर गएर कसैलाई प्रतिशोध नलिने बताए ।
“अपराधजन्य कार्यहरू, भ्रष्टाचार होस् । ठगि होस् । या अरू कुनैपनि अपराधिक कार्यमा अपराध गर्ने सबै मानिसका माथि अनुसन्धान हुन्छ । हुनुपर्छ । यसमा कुनै लाखा पाखा हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन । म के आग्रह गर्न चाहन्छु भने कुनैपनि अपराधिक कार्यको अनुसन्धान, कारबाही मानिसको मुख होइन तथ्य हेरेर गरिन्छ । कारबाही प्रमाण हेरेर गरिन्छ । मानिसको मुख हेरेर गरिँदैन । एकपटक फेरि भन्छु, कुनैपनि अपराधिक कार्यमा अनुसन्धान मान्छेको मुख हेरेर गरिँदैन । तथ्य हेरेर गरिन्छ । कुनैपनि अपराधिक कार्यको कारबाही मान्छेको मुख हेरेर गरिदैनँ । तथ्य र प्रमाणमा आधारित भएर गरिन्छ,” उनले भने ।
गृहमन्त्री लेखकले सरकार भ्रष्टाचारका बारेमा शुन्य सहनशिलताको नीतिको दृढ रहेको बताए । उनले सुशासन स्थापना गर्ने कुरामा सरकार प्रष्ट रहेको भन्दै भ्रष्टाचार निर्मुल गर्ने कुरा सरकारको प्राथमिकतामा रहेको बताए ।