१२ कार्तिक २०८१, सोमबार

औद्योगिक क्षेत्रको आधुनिकीकरणमा एआई अपरिहार्य छ : उद्योगमन्त्री भण्डारी

प्रकाशित मिति :  28 October, 2024 4:29 pm


काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताएका छन् ।

राष्ट्रिय युवासंघ नेपाल द्वारा आयोजीत इन्टरनेशनल आर्टिफिसियल इन्टेलिजेन्स एण्ड रोबोटिक्स कन्फरेन्समा बोल्दै उनले आर्टिफिसयल इन्टेलिजेन्स सम्बन्धी नीति तथा कानुन निर्माण गरी यसको विकास मार्फत औद्योगिक विकास र समृद्धिमा फड्को मार्ने गरी सरकार लागिपरेको बताएका हुन् ।

उनले भने, “हामीले यसका लागि नीतिगत र कानूनी संरचना निर्माण र पूर्वाधार विकासमा लागेका छौँ । डिजिटल पूर्वाधार विस्तार र सुदृढीकरण, औद्योगिक क्लस्टर र टेक्नोलोजी पार्क स्थापना, इन्टरनेट कनेक्टिभिटी र नेटवर्क विस्तार, डाटा सेन्टर र क्लाउड कम्प्युटिङ सेवा, एआई अनुसन्धान र विकास, क्षमता विकास, उद्योग–शिक्षा साझेदारी, अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान हस्तान्तरण, स्टार्टअप इन्क्युबेसन र एक्सेलेरेसन, लगानी प्रर्वधन जस्ता क्षेत्रहरूमा विशेष ध्यान दिनुपर्ने देखिन्छ ।”

मन्त्री भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले डिजिटल नेपाल औद्योगिक रूपान्तरण कार्यक्रम, एआई इनोभेसन हब स्थापना र युवा उद्यमी डिजिटल सशक्तिकरण कार्यक्रम हरु अघि बढाउने योजना बनाएको बताए ।

मन्त्री भण्डारीले नेपालको औद्योगिक क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स प्रविधिको भूमिका र सम्भावनाहरूबारे गहन छलफल गरिएकोमा खुसि व्यक्त गरे । उनले यस क्षेत्रमा विश्वव्यापी रूपमा भइरहेका विकास र प्रगतिहरूले मुलुकको औद्योगिक रूपान्तरणका लागि नयाँ दिशा र सम्भावनाहरू प्रस्तुत गरेको बताए ।

उनले औद्योगिक क्रान्तिको मूल आधार नै आरटिफिसियल इन्टेलिजेन्स लगायतका आधुनिक प्रविधिहरू भएको बताए । यी प्रविधिहरूले औद्योगिक उत्पादन, सेवा वितरण र व्यवस्थापनका क्षेत्रमा आमूल परिवर्तन ल्याइरहेको मन्त्री भण्डारीको विश्वास छ ।

आरटिफिसयल इन्टेलिजेन्सको प्रयोग र प्रभावले स्मार्ट म्यानुफ्याक्चरिङ, आपूर्ति श्रृंखला व्यवस्थापन र ग्राहक सेवा तथा बजार विश्लेषण गरी स्वचालित ग्राहक सेवा र समर्थन, बजारको प्रवृत्ति विश्लेषण, ग्राहक व्यवहार अध्ययन, व्याक्तिगत सिफारिस प्रणाली, सामाजिक सञ्जाल अनुगमन र विश्लेषण जस्ता आयाममा उल्लेखनिय योगदान दिदै सहजिकरण गर्दै आएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !