१४ कार्तिक २०८१, बुधबार

हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

प्रकाशित मिति :  30 October, 2024 12:33 pm


काठमाडाैँ ।विभिन्न मितिमा हराएका २५ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबिच यस कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले १७ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा सातदोबाटो, पुल्चोक, मंगलबजार, टिकाथली, जगाती, ठिमी, ढल्को, बौद्द, माकलबारी, एयरपोर्ट, तिनपिप्ले, महाराजगञ्ज, बलम्बु, गोकर्णेश्वर, मुलपानी, बालाजु र महादेबटार लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २५ ओटा सहित १७६ ओटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १४ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १८ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाएका २५ ओटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा यस कार्यालयमा निवेदन परेका थिए ।

सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९\८० मा ४९९ ओटा र ०८०\०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।



प्रतिक्रिया दिनुहोस !