१५ कार्तिक २०८१, बिहिबार

तिहारको तेस्रो दिन कुकुरको पूजा गरी मनाइदै

प्रकाशित मिति :  31 October, 2024 6:49 am


काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा—मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरूको सङ्ख्यासमेत बढ्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस !