६ मंसिर २०८१, बिहिबार

नेपालमा डेंगुको प्रकोप: १२ जनाको मृत्यु, ७६ जिल्लामा फैलियो संक्रमण

प्रकाशित मिति :  6 November, 2024 3:03 pm


काठमाडौँ । डेंगुको प्रकोप विगतका वर्षहरू भन्दा कम भएपनि जोखिम कम भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, जनवरी महिनादेखि अहिलेसम्म २८,२१२ जनामा डेंगु संक्रमण देखिएको छ। मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत र सूचना अधिकारी, रविकान्त मिश्रका अनुसार, यस वर्षको ४० औं हप्ताको रिपोर्ट मा ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको जानकारी दिइएको छ।

गत वर्षको तुलनामा संक्रमणका केसहरू कम भएका छन्। अघिल्लो वर्ष अक्टोबर महिनामा १२,६९९ संक्रमणका केस रिपोर्ट भएका थिए भने यस वर्षको अक्टोबर महिनामा ९,६६६ संक्रमणको रिपोर्ट आएको छ। यसमा १२ जनाको मृत्यु भएको छ। मिश्रका अनुसार हुम्ला बाहेकका सबै जिल्लामा डेंगुका संक्रमित बिरामी फेला परेका छन्।

डेंगुको उच्च संक्रमण दर गण्डकी प्रदेशमा विशेष गरी देखिएको छ, जहाँ देशभरका कुल डेंगु संक्रमितको लगभग ५० प्रतिशत केसहरू गण्डकी प्रदेशबाट आएका छन्। कास्की, काठमाडौँ, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा डेंगु संक्रमणका केसहरू धेरै देखिएका छन्।

पानी जम्ने स्थानहरू जस्तै टायर, भाँडाकुँडा, गमला, फ्रिजका पछाडि र अन्य स्थानहरू लामखुट्टे प्रजननका लागि उपयुक्त बनिरहेका छन्। यस्ता स्थानहरूमा संक्रमित लामखुट्टे अण्डा राखेर फैलन सक्छन्। यसै कारण डेंगुका प्रकोपहरू बढिरहेकाे मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत र सूचना अधिकारी मिश्रकाे दाबी छ ।

डेंगु संक्रमणको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले ‘खोज र नष्ट गर’ अभियान चलाएको छ। यसअन्तर्गत पानी जम्ने स्थानहरूलाई सफा गर्न र लामखुट्टे प्रजनन स्थल हटाउन सबैलाई सचेत गराइँदैछ। स्वास्थ्य मन्त्रालयका अनुसार, संक्रमित व्यक्तिहरूलाई सरकारी अस्पतालहरूमा निःशुल्क उपचार दिइरहेको छ।



प्रतिक्रिया दिनुहोस !