६ मंसिर २०८१, बिहिबार

आगामी वर्षहरू चुनौतिपूर्ण छन्,डेंगुलाई गम्भीरतापूर्वक लिनुपर्छः डा. पुन

प्रकाशित मिति :  7 November, 2024 1:49 pm


काठमाडाैँ । डेंगुको संक्रमण विश्वभर फैलिरहेको छ र नेपाल पनि यसको प्रभावबाट अछुतो छैन। चिकित्सकहरूले चेतावनी दिँदै डेंगुको संक्रमण वर्षेनी बढ्दै गएको बताएका छन्।

शुक्रराज ट्रपिकल अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार, डेंगु अब एक व्यापक समस्या बनेको छ र यस वर्ष तनहुँमा आउट ब्रेक भएपनि अन्य जिल्लाहरू, जस्तै काठमाडौँ, ललितपुर, चितवन, पर्वत र गण्डकी प्रदेशका केही क्षेत्र पनि अत्यधिक प्रभावित भएका छन्।

डेंगुको संक्रमण दर बढ्दै गएपछि डा. पुनले आगामी वर्षमा डेंगु महामारीको रूप लिन सक्ने सम्भावना रहेको चेतावनी दिएका छन्। उनले भने, “डेंगुको संक्रमण जति फैलिँदै गयो, त्यति नै यसको घातकता बढ्दै गएको छ। यसलाई नियन्त्रण गर्नका लागि हाम्रा लागि आगामी वर्षहरू चुनौतीपूर्ण हुनेछन्।”

उनको अनुसार अहिलेको समयमा डेंगुलाई गम्भीरताका साथ लिएको छैन र प्रचारप्रसारको कमीले जनचेतना निर्माण गर्नमा अप्ठ्यारो भइरहेको छ। “सर्वसाधारणले अझै डेंगुको खतरा बुझ्नुपर्छ। प्रचार प्रसारका अभियानहरूलाई आक्रामक र सक्रिय बनाउनु आवश्यक छ,” डा.पुनले भने ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, अहिले सम्म २८ हजार २१२ जना डेंगु संक्रमित भएका छन् र १२ जनाको मृत्यु भएको छ। डा. पुनले डेंगु फैलाउने मुख्य कारणको रूपमा लामखुट्टेको लार्भालाई लक्षित गरेर नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, “यदि हामीले अहिलेको घातक डेंगु संक्रमणलाई सचेत भएर व्यवस्थापन गर्न सकेनौं भने, भविष्यमा यो एक गम्भीर महामारीको रूप लिन सक्छ।”



प्रतिक्रिया दिनुहोस !