८ मंसिर २०८१, शनिबार

कप्तान रोहितले भनेः लामो फरम्याटमा अझ धेरै खेल खेल्नुपर्ने देखियो

प्रकाशित मिति :  7 November, 2024 2:14 pm


काठमाडाैँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले ५० ओभरका खेलमा नेपाली ब्याटरले राम्रोसँग जम्न नसकेको उल्लेख गर्दै यस फरम्याटमा अझै धेरै खेल खेल्नुपर्ने बताएका छन् ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा भएको त्रिकोणात्मक श्रृंखलामा खराब प्रदर्शन गरेको नेपाली टोली बिहीवार स्वदेश फर्किएको छ । सो क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले एकदिवसीयमा क्रिकेटमा नेपाली ब्याटर राम्रोसँग समालिन नसकेको उल्लेख गर्दै एकदिवसीय र दुई दिवसीय क्रिकेट खेलेमा सुधार हुने बताए ।

यी फरम्याटका क्रिकेट खेल्दा ब्याट्सम्यान परिपक्व हुने कप्तान रोहितले विश्वास व्यक्त गरे । उनले हारका बाबजुद टिमलाई सकारात्मक रूपमा अगाडि बढाउन टोलीका सबै सदस्यले सुधारका लागि राम्रो गरिरहेको उल्लेख गरे । आशा गरेजस्तो राम्रो नतिजा नआए पनि टोलीमा राम्रो बन्डिङ रहेको उनको भनाइ छ । उनले लिग–२ को तीन वटा श्रृंखलामा राम्रो नतिजा नआउँदा आगामी खेलमा चुनौती हुने बताए । कप्तान रोहितले ट्वान्टी–२० फरम्याट धेरै खेलेको उल्लेख गर्दै एउटा ब्याट्सम्यान भएपछि ५० ओभरमा पनि राम्रो गर्नुपर्ने धारणा राखे ।

नेपाली क्रिकेट टोलीको ब्याटिङ कन्सल्टेन्ट जगत टमटाले क्यानडाको कन्डिसनमा खेल्ने समस्या नै रहेको बताए । तर उनले अमेरिकामा पनि टोलीले राम्रो प्रयास गरे पनि नतिजा राम्रो आउन नसकेको उल्लेख गरे । अमेरिकामा पनि खेल्न राम्रो कन्डिसन नभए पनि एउटा ब्याट्सम्यान भएपछि सबै अवस्थामा खेल्न सक्नुपर्ने उनको धाराणा थियो । उनले टोलीले सबै क्षेत्रमा सुधार गर्नुपर्ने देखिएको बताए । घरेलु मैदानमा ५० ओभरमा नखेले पनि एउटा खेलाडीले राम्रो मानसिकताका साथ आफूलाई तयार गर्नुपर्ने बताए । घरेलु प्रतियोगितामा ५० ओभरका खेल भयो भने खेलाडी थप बलियो हुने उनले आशा गरे ।

नेपालले अमेरिकाको श्रृंखलामा एक खेलमा जित निकाल्दै दुई खेल गुमाएको थियो । स्कटल्याण्डसँग जित निकालेको नेपालको सोही टोलीविरुद्ध दोस्रो खेल भने वर्षाका कारण हुन सकेन । अमेरिकासँग भने दुवै खेल गुमाउन पुग्यो । लिग–२ को अंकतालिकामा नेपाल १२ खेलबाट ६ अंक बटुल्दै पुछारबाट दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !