२३ कार्तिक २०८१, शुक्रबार

कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ

प्रकाशित मिति :  8 November, 2024 2:45 pm


काठमाडाैँ । सजाय भुक्तानको क्रममा रहँदा कारागारबाट दुई पटक भागेका विनायककुमार यादव छठ मनाउने क्रममा पक्राउ परेका छन् ।

सुनसरीको झुम्का र सिन्धुपाल्चोक कारागारबाट भागेका उनी गयराती नेपाल-भारत सीमाको कोशी गाउँपालिका वडा नम्बर ८ पथरचट्टान भन्ने स्थानबाट पक्राउ परेका हुन् । छठ मनाउन भारतको विहार हुँदै नेपाल आउँदै गरेको सूचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ८ बाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फरार प्रतिवादी रहेका विनायकलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड गोली समेत फायर गर्नुपरेको जनाएको छ । प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले पक्राउको क्रममा प्रतिवादी भाग्न खोजेकाले उनलाई नियन्त्रणमा लिन घुँडामुनी गोली फायर गर्नुपरेको बताए । भाग्न खोज्ने व्यक्ति आत्तिएर लडेपनि उनलाई गोली भने नलागेको प्रहरी उपरीक्षक तिम्सिनाले बताउनु भयो । घटना सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको सुनसरी प्रहरीले पक्राउ परेकाको हकमा कानून बमोजिमको कार्वाहीको प्रकृया अघि बढाइएको जनाएको छ ।

सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरिएका विनायककुमार यादव कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीबाट अपराधी ठहर भएका थिए । अदालतको फैसला बमोजिम २० वर्ष ८ महिना १४ दिनको सजाय कैद भुक्तानीका क्रममा झुम्का कारागारमा रहँदा उनी २०६९\०७\२३ गते सुरूङ खनेर भागेका थिए । सो बखत उनीसँगै बङ्गलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कारागारबाट एकसाथ भागेका थिए । 

झुम्का कारागारबाट भागेका विनायकलाई केहि समय पछि सप्तरी प्रहरीले गोबरगाढाबाट पक्राउ गरेको थियो । यद्यपी कैद भुक्तानकालागि सिन्धुपाल्चोक कारागारमा राखिएका उनी त्यहाँबाट समेत भूकम्प गएको मौका छोपी २०७२\१\१२ गते भागेका थिए । प्रहरीकाअनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन् ।



प्रतिक्रिया दिनुहोस !