८ मंसिर २०८१, शनिबार

लुम्बिनी प्रदेश : गौरवका आयोजना कार्यान्वयन प्राथमिकता

प्रकाशित मिति :  8 November, 2024 3:21 pm


दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश गौरवका आयोजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाएका छन् । प्रदेश सरकारले गौरवका आयोजनाको कार्यान्वयनलाई बजेट र कार्यक्रममा समेत प्राथमिकतामा राख्दै आएको छ ।

प्रदेशको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याउन गौरवका आयोजनाले योगदान गर्ने विश्वास गरिएको छ । स्वास्थ्य, शिक्षा, प्रशासनिक क्षेत्र, सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर गौरवका आयोजना तय गरिएको छ ।

‘‘प्रदेश गौरवका आयोजनाहरुको कामलाई तिब्रता दिइएको छ । बजेट विनियोजनमा प्राथमिकतामा राखेर कार्यान्वयन तहलाई चुस्त बनाएका छौं’’, मुख्यमन्त्री आचार्यले भने, ‘‘प्रदेश गौरवका आयोजनालाई प्रदेश सरकारले गौरवका साथ अघि बढाएको छ ।’’

स्वास्थ्य उपचार सेवालाई प्रभावकारी बनाउन बुटवलमा सुविधा सम्पन्न अस्पताल निर्माणको काम अघि बढेको छ । सुविधासम्पन्न १२ तले एक हजार दुई शैया रहने यस अस्पताल भवन निर्माणको काम अघि बढेको छ । ६ अर्ब १८ करोड बढीको लागतमा २०८५ साल पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी शिलान्यास गरेर निर्माणको काम अघि बढेको हो ।

यो अस्पताल निर्माण सम्पन्न भएर सेवा सञ्चालनमा आए बुटवल स्वास्थ्य हवको रुपमा विकासित हुने छ । अहिले देखिएका उपचारका जटिलताहरु समाधान भएर जाने विश्वास सरकारले लिएको छ ।

प्रदेशको प्रशासनिक सेवालाई प्रभावकारी बनाउन सुविधा सम्पन्न प्रशासनिक केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा ३ अर्ब ९ करोड रुपैयाँको लागतमा प्रशासनिक केन्द्र जसमा मुख्यमन्त्री कार्यालय सहित १० वटा मन्त्रालय रहने गरी कार्य तीव्र रुपमा अघि बढेको छ ।

२०८२ सालभित्रै निर्माण सम्पन्न हुने लक्ष्य सहित हाल ६५ प्रतिशत काम पूरा भइसकेको छ । साथै, १ खर्बको लागतमा २० वर्षभित्र आधुनिक सहर निर्माण सम्पन्न गर्ने लक्ष्य अनुसार सरकारले नदी सभ्यतामा आधारित नमुना सहरका लागि साझेदार एवं लगानीकर्ता खोज्न सरकारले पहल लिएको छ ।

बाँके जिल्लाको खजुरामा प्राविधिक विश्व विद्यालय स्थापना गरी सूचना प्रविधि, इन्जिनियरिङ, कृषिलगायत अध्यापन गराइदै आइएको छ । प्राविधिक, दक्ष जनशक्ति उत्पादनका लागि थप पहल गर्नेसरकारको योजना रहेको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै विभिन्न सडक खण्डलाई वहुवर्षिय आयोजनाका रुपमा काम अघि बढाउने निर्णय गरिएको छ ।

रामपुर–जिनाबाङ सडक स्तरोन्नति योजनालाई प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा अघि बढाएको छ । प्रदेश सरकारले यस सडक आयोजनालाई गौरवको आयोजनाको रुपमा अघि बढाउँदै बहुबर्षीय आयोजनाका रुपमा काम अघि बढाएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा पाल्पाको रामपुरदेखि पश्चिम उत्तर रोल्पाको जिनावाङ जोड्ने सडकलाई प्रदेश गौरवको आयोजनमा राखेर निर्माण शुरु गरेको गरेको हो ।

चार जिल्लामा ८ चरणमा काम थालिएको यो सडक निर्माणको कामलाई तिब्रता दिनेगरी काम अघि बढेको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।

यस वर्ष सडक निर्माणको लागि बजेट रहेको समेत जानकारी दिनुभयो । करिब ३ सय किलोमिटर अनुमान गरिएको यो सडक ४ जिल्लाका सडक पूर्वाधार कार्यालय र प्रदेश भौतिक पूर्वाधार निर्देशनालयलले हेर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !