८ मंसिर २०८१, शनिबार

विवाहपञ्चमीमा अयोध्याबाट ५ सयभन्दा बढी जन्ती जनकपुरधाम आउने

प्रकाशित मिति :  10 November, 2024 1:00 pm


काठमाडाैँ । विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्याबाट ५ सय बढी जन्ती जनकपुरधाम आउने भएका छन् ।

आइतवार विवाह पञ्चमी महोत्सव तयारीका क्रममा जानकी मन्दिरमा सर्वपक्षिय बैठकमा सो जानकारी गराइएको हो । विवाहपञ्चमी महोत्सवबारे जानकारी दिँदै जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मनाउन लागिएको र जनकपुरमा १७ गते अयोध्याबाट जन्ती आउने र २२ गतेसम्म जनकपुरमा बस्ने बताए । उनले जन्तीको स्वागतमा जनकपुरवासीले कुनै कमी नराख्ने बताए । अयोध्याबाट आउने जन्तीको भव्य र सभ्य स्वागत गर्ने बताए ।

विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधाममा तयारी तिब्र बनाइएको छ । विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री राजेन्द्र सिंह पंकज, रामजन्म भूमि तीर्थ क्षेत्र ट्रष्टका चम्पत राय लगायतका व्यक्ति जन्तीमा सहभागी भएर आउन लागेको महन्थ दासले बताए । अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव चम्पत रायले गर्ने बताइएको छ । जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषिकेषका महन्त डा. रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५०० बढीको सहभागिता रहने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !