रवि लामिछानेलाई भैरहवा लगियो, बयानका लागि सिधै सरकारी वकिलको कार्यालयमा लगिने
काठमाडौं । रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भैरहवामा लगिएको छ । लामिछानेलाई मंगलबार बुद्धएयरको विमानमार्फत १२ः२० मा भैरहवा विमानस्थलमा अवतरण गराइएको छ । सहकारी ठगी आरोपमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बयानका लागि आज भैरहवा लगिएको हो ।
पोखराबाट बुद्ध एयरको पौने ८ बजेको पहिलो विमानबाट भैरहवा ल्याउने तयारी भए पनि मौसम खराब भएकाले उडानमा ढिलाइ भएको हो। पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कार्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा लगिएको हो ।
लामिछानेलाई ल्याउने भएपछि बिहानैबाट गौतमबुद्ध विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । लामिछानेलाई भैरहवा पु¥याएलगत्तै बयानको लागि सरकारी वकिलको कार्यालयमा लगिएको रुपन्देही प्रहरीले जनाएको छ ।