७ मंसिर २०८१, शुक्रबार

सिड्नीमा नेपाल महोत्सवः अष्ट्रेलियाको मुटुमा नेपाली संस्कृति र पहिचानको प्रदर्शन

प्रकाशित मिति :  13 November, 2024 1:44 pm


सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरमा आउँदाे मंसिर ८ गते सबैभन्दा ठूलो नेपाल महोत्सव आयोजना हुने भएको छ। एनआरएनए एनएसडब्लु राज्य समितिका संयोजक विनोद कुँवरका अनुसार, नेपाली कला, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्दै नेपाली समुदायमा एकता र भाइचाराको सन्देश फैलाउन यो महोत्सवको आयोजना गरिएको हो।

यसपटकको महोत्सव सिड्नीको डार्लिङ हार्बरस्थित टुम्बालोङ पार्कमा हुनेछ, जसमा करिब पचास हजार दर्शकको सहभागिता रहने अनुमान गरिएको छ। महोत्सवको तयारी विगत ६ महिनादेखि चलिरहेको छ।

कुँवरका अनुसार महोत्सवले अष्ट्रेलियामा बढ्दो नेपाली पुस्तालाई नेपाल चिनाउने अवसर प्रदान गर्नुका साथै बहुसांस्कृतिक समुदायलाई नेपाली समाजसँग परिचित गराउनेछ। कार्यक्रमका दौरान नेपाली परम्परागत पोशाकमा सजिएका नेपाली बाबु नानीहरूले ‘म नेपाली हुँ’ भनी गर्वपूर्वक प्रस्तुत गर्ने मौका पाउने आयाेजकले जनाएकाे छ ।

महोत्सवमा १४ वटा खाद्य स्टल र ३५ वटा व्यवसायिक, शैक्षिक, तथा हस्तकला प्रदर्शनी स्टलहरू रहनेछन्। ‘नेपाल हाउस’मा नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदाहरू जस्तै पशुपति, धरहरा, लुम्बिनी, र स्वयम्भूको प्रदर्शनी गरिनेछ। साथै, नेपाली परम्परागत बाजा र विविध सांस्कृतिक भेषभूषामा आधारित झाँकी प्रदर्शनी र शान्ति पद यात्रा गरिनेछ। नेपालबाट आउने कलाकारहरूमा पशुपति शर्मा, द एक्स ब्याण्ड, आस्था राउत, र हेमन्त शर्मा रहेका छन्, जसले सांगीतिक प्रस्तुति दिनेछन्।

करीब २ लाख ५० हजार डलरको अनुमानित लागतमा आयोजना गरिने यो महोत्सवले नेपाली समुदायलाई अष्ट्रेलियाको मुख्यधारमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !