राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् ।शुक्रवार अजरबैजानको भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन्।
कार्तिक २६ गतेबाट अजरबैजानको बाकुमा सुरू भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धी पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप २९) मा सहभागी भइ राष्ट्रपति पौडेल स्वदेश फर्किएका हुन्। उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू पुगेका थियो । राष्ट्रपति पौडेलले कोप २९ अन्तर्गत कात्तिक २७ गते अजरबैजाको बाकुमा उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए ।
त्यस्तै, सम्मेलनका क्रममा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले अजरबैजान र मालदिभ्सका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त राष्ट्र सङ्घका महासचिवले आयोजना गर्नुभएको कार्यक्रममा समेत सहभागी भएका थिए ।