३० कार्तिक २०८१, शुक्रबार

बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रूपमा छः सभामुख घिमिरे

प्रकाशित मिति :  15 November, 2024 1:22 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले बेवारिसे भइ हुर्किएका बालबालिकाहरुलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा किशोर तथा किशोरी सञ्जालको राष्ट्रिय भेलाको निचोड बुझ्ने क्रममा आयोजित कार्यक्रममा बोल्दै उनले यो विषय संसदमा पनि छलफलको विषय बनेको बताएका हुन्। यसबारेमा गृह मन्त्रालयले अनाथालयमा हुर्किरहेका र अनाथालयले जिम्मेवारी लिएका तर नागरिकतासम्बन्धी कानूनले व्यवस्था गरेको हिसावबाट नसमेटिएकालाई कसरी नागरिकता दिने भन्नेबारेमा कार्यदल नै बनाइ काम गरिरहेको बताए ।

उनले कार्यदलले प्रतिवेदन दिइसकेपछि सरकारले चाँडै कानून बनाउने र संसदमा बहस हुने अपेक्षा गरे । यौनिक, अल्पसंख्यक रुपमा रहेका समुदायहरुलाई मानवको रुपमा व्यवहार नगर्ने खालको परिपाटी रहेको भन्दै यसको बारेमा राजनीतिक क्षेत्रबाट मुलतः अभियानहरुबाट कार्यक्रम लैजाने र उनीहरुको अवस्था, चिन्तन, चेतनालाई विकास गर्ने काममा लाग्नुपर्ने बताए।

तदनुकलुको अन्य कानूनी प्रवन्धहरु मिलाउने काम गर्न जरुरी रहेको पनि सभामुख घिमिरेले बताए । बोल्न नसक्ने बालबालिका र किशोरकिशोरीहरुका समस्या समाधान गर्न उनीहरुका समस्या दोभाषेका माध्यमबाट आवश्यकता पूरा गर्नुपर्ने बताए । भौतिक संरचना निर्माण गर्दा हिँड्न नसक्नेहरुका लागि तदअनुकुल वातावरणका भौतिक संरचना निर्माण गर्ने कानूनी प्रवन्ध भइरहेको भइरहेको पनि बताए ।

सभामुख घिमिरेले सबै खालका बालबालिकाहरुलाई राष्ट्रिय गौरवको रुपबाट अगाडि लैजानका लागि चाहिने सबै प्रवन्ध मिलाउन राज्यमा सुशासन र राज्य आर्थिक रुपबाट मजबुत हुन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !