स्थानीय तह उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध छः गृहमन्त्री लेखक
काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउनका लागि सुरक्षा निकायका सबै अंगहरूलाई निर्देशन दिइएको पनि बताएका हुन ।
उपनिर्वाचन केन्द्रित सुरक्षा निकायको बैठक बसेको र त्यसले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षा उपलब्ध गराउने आवश्यक निर्णय गरिरहेको उल्लेख गर्दै उनले त्यसका लागि निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने कुरामा सरकार तयार रहेको पनि बताए । निर्वाचन आयोगसँग समन्वय गरेर सरकारले आवश्यक सुरक्षा प्रवन्ध मिलाउने पनि गृहमन्त्री लेखकले बताए।
गृहमन्त्री लेखकले निर्वाचनका लागि आवश्यक सबै खालको सहयोग जुटाउने कुरामा सरकार लागि परेको बताए ।