मोटरसाइकल चोरीमा संलग्न ४ जना ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ४ जनालाई आइतबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौँको चुच्चेपाटी बस्ने २८ वर्षीय चन्द्र तामाङ, सोही स्थान घर भई हाल ललितपुर बस्ने २० वर्षीय ओम बहादुर तामाङ, सिन्धुलीको मरिण गाउँपालिका ७ घर भई हाल भक्तपुरको बोडे बस्ने २३ वर्षीय विजय माझी र सिन्धुलीको दुधौली नगरपालिका ९ घर भई काठमाडौँको गौशाला बस्ने २९ वर्षीय समल तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।
बागमती प्रदेश ०२-०३७ प ७७ ७१ नम्बरको मोटरसाइकल भक्तपुरको लोकन्थलीबाट हराएको भनि मनोज मानन्धरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४२ प ६८ १७ नम्बरको मोटरसाइकल काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नम्बर ६ महांकालमा चन्द्रले चलाउँदै गरेको अवस्थामा ट्राफिक प्रहरीले आज फेला पारेको थियो । चन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त मोटरसाइकल ओम बहादुरबाट लिएको खुल्न आए पश्चात् काठमाडौँको बौद्ध पिपलबोटबाट
ओम बहादुरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनुसन्धानकै क्रममा ओम बहादुरले समेत उक्त मोटरसाइकल विजय र समलबाट लिएको भन्ने खुल्न आएपछि खोजी गर्दै जाँदा काठमाडौँको मुलपानीबाट दुबैजनालाई आजै ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजि तथा थप अनुसन्धान कार्य जारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिए ।