३ मंसिर २०८१, सोमबार

विकासशील मुलुकमा स्तरोन्नति हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य छः अध्यक्ष ढकाल

प्रकाशित मिति :  18 November, 2024 2:32 pm


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताएका छन् ।

सोमवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले मुलुक अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयांँ नविनतम सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य रहेको बताए ।

उनले अहिले सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको बताए ।उनले नयाँ सोचका साथ व्यवसाय बिस्तार गर्नसक्दा मात्रै अर्थतन्त्रको विकासमा नयाँ अवसरहरु सिर्जना हुने र नवप्रवर्तनले लागत घटाउने तथा उद्यमीहरुको लागि आत्मनिर्भर बन्ने माध्यम हुने विश्वास रहेको बताए ।उनले महासंघले इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवद्र्धनमा सघाउ पुर्‍याउन “स्टार्टअप एण्ड इनोभेसन फोरम” गठन गरेको बताए ।

अध्यक्ष ढकालले देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनुपर्ने, करका प्रकृयाहरुमा पारदर्शी बनाई कम दरमा कर उपलब्ध गराउन सक्नुपर्ने बताए । उनले आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै अनधिकृत आयात रोक्न जरुरी रहेको उल्लेख गरे । सरकारले नीतिगत स्पष्टता, स्थिरता र शिघ्र एवं प्रभावकारी कार्यान्वयनको सुनिश्चित गर्न आवश्यक रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !