३ मंसिर २०८१, सोमबार

रोल्पामा खेलकुद मैदान निर्माणका लागि दुई युवाद्धारा दुई लाख सहयोग

प्रकाशित मिति :  18 November, 2024 3:46 pm


काठमाडाैँ । समृद्धि युवा क्लव माडी गाउँपालिका वडा नम्बर ३ दाङबाङ रोल्पालाई स्थानीय दुई युवाले दुई लाख नगद सहयोग गरेका छन ।

समृद्धि युवा क्लवका सल्लाहाकार तथा तीनचुले बहुउद्देश्यीय कृषि तथा पशुपन्छि फर्म घोराही उपमहानगरपालिका वडा नम्बर १२ का प्रोप्राइटर बल बहादुर घर्तीमगरले क्लवलाई एक लाख सहयोग गरेका छन । त्यस्तै माडी गाउँपालिका वडा नम्बर ३ दाङबाङकै युवा व्यवसायी तथा राजनीतिज्ञ निर्मल घर्तीमगरले पनि एक लाख सहयोग गरेका छन । क्लवको खेलकुद मैदान निर्माण गर्न उक्त सहयोग रकम प्रदान गरिएको हो ।

गाउँको समग्र खेलकुद क्षेत्रको विकासका लागि आफूले सहयोग गर्दै आएको क्लवका सल्लाहाकार घर्तीमगरले जानकारी दिए । “गाउँमा खेलकुद अभ्यास गर्न एउटा पनि खेलकुद मैदान थिएन । खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान अनिवार्य शर्त हो ।” उनले भने “खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्न पहिलो कुरा पूर्वाधार नभई हुँदैन । त्यही भएर मैलें विगत देखि क्लवलाई विभिन्न सहयोग गर्दै आएको छु ।”

‘राज्यले ग्रामीण वस्तीहरूमा पनि खेलकुदमा लगानी गर्नुपर्छ’ भन्ने मान्यताका साथ आफूले सहयोग गरेको स्थानिय युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टी सदस्य निर्मल घर्तीमगरले बताए । “राज्यले खेलकुद क्षेत्रको विकासका लागि युवाहरुलाई प्रत्यक्ष छुने गरी नीति, योजना र बजेट लिनु र दिनु पर्छ । मेरो मान्यता युवाहरुले पनि राज्यबाट बजेट लिन र सही सदुपयोग गर्न सक्नु पर्छ ।” उनले भने “राज्यको सही नीति र युवाको रचनात्मक सहभागिता भयो भने खेल क्षेत्रको विकास हुन्छ । स्थानिय युवाहरुको सक्रियता र गाउँको आवश्यकतालाई महसुस गरेर मैले पनि सहयोग गरेको हुँ ।”

क्लवले गाउँका चार ठाउँमा खेलकुद अभ्यासका लागि खेलकुद मैदान निर्माण गर्ने योजना यसै वर्ष देखि अघि सारेको छ । चार ठाउँ मध्ये एक ठाउँ माडी गाउँपालिका वडा नम्बर ३ को खालीचौरमा हाल खेलकुद मैदान निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । खेलकुद मैदान निर्माणका लागि क्लवले यस वर्षको देउसी भैलो रकम पनि खर्च गरेको छ । त्यस्तै माडी गाउँपालिकाले जेसिबी मेसिन उपलव्ध गराएको छ । पालिकाले दुई सय २० लिटर तेल पनि दिएको छ । खेलकुद मैदान निर्माणका लागि थप दुई सय लिटर तेल दिने माडी गाउँपालिकाले जनाएको छ ।

माडी गाउँपालिकामा खेलकुदको विकासमा सहयोग पुर्‍र्‍याउन जेसिबी मेसिन र इन्धन सहयोग गरिएको माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्तीमगरले जानकारी दिए । उनले भने “माडी गाउँपालिकाको खेलकुद विकासमा सहयोग पुर्‍याउन हामीले पालिकाको तर्फबाट सहयोग गरेका छौं । हामीले युवाहरुको सक्रियता र आवश्यकतालाई मध्यनजर गरेर सहयोग र साझेदारी गरेका हौं । माडी गाउँपालिकाले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिएका छ ।”



प्रतिक्रिया दिनुहोस !