३ मंसिर २०८१, सोमबार

‘स्व. ढुंगाना संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्ति हुन्’

प्रकाशित मिति :  18 November, 2024 3:31 pm


काठमाडाैँ । मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पूर्वसभामुख स्व. दमननाथ ढुंगानालाई संसदीय मूल्यमान्यता स्थापित गराउने व्यक्तिको रूपमा आफूले लिएको बताएका छन् ।

सोमवार सानो गौचरणमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुग्नुभएका मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व.ढुंगानाका जीवनका विभिन्न आयामहरू रहेको बताएका हुन् । उनले स्व.ढुंगाना कानूनी क्षेत्रमा वरिष्ठ अधिवक्ता भइ संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा बहस गरेकाे बताए ।

उनले समन्वयकारी भुमिका निर्वाह गर्ने व्यक्तिका रुपमा आफूले स्मरण गर्ने बताए । “उहाँका जीवनका विभिन्न आयामहरु छन् । कानूनी क्षेत्रको पनि एउटा राम्रो वरिष्ठ अधिवक्ता भएर संवैधानिक, कानूनी, राजनीतिक पक्षका मुद्दाहरुमा पनि बहस गर्नुभयो । मेरै इजलासमा पनि म जिल्ला न्यायाधीश हुँदा बहस गर्नुभएको थियो, काठमाडौंमा । सभामुखको हैसियतले संसदीय मूल्यमान्यता स्थापित गराउनु भयो । समन्वयकारी भुमिका निभाउनुभएको छ । पछिल्लो समयमा मानवअधिकारवादी व्यक्तिको रुपमा पनि काम गर्नुभयो । समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गर्नुभएको योगदान स्मरणीय छ,” उनले भने ।

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष रेग्मीले स्व. ढुंगानाले समाज र राष्ट्रको लागि कानूनी क्षेत्रदेखि राजनीतिक, संसदीय क्षेत्रको पद्धतिमा बसेर गरेकाे योगदान स्मरणीय रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !