महामन्त्री थापाले भनेः नेताहरूले स्व. ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी छ
प्रकाशित मिति : 18 November, 2024 3:46 pm
काठमाडाैँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरुले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताएका छन् ।
सोमवार काठमाडौँको नयाँ गौचरणमा राखिएको ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका महामन्त्री थापाले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् । उनले आफ्नो पार्टीबाट सभामुख भएपछि पार्टीप्रति झुकाव राख्नुपर्ने आफूहरुको ठानेको भएपनि उनले त्यस्तो नगरि निष्ठाको राजनीति गरेका बताए ।
नेपालका हरेक संघ र संस्थामा राजनीतिक मान्छेहरू जोडिएको कारण विकास हुन नसकेको उल्लेख गर्दै उनले जुन दलबाट भएपनि संस्थाको नेतृत्वमा पुगेपछि शतप्रतिशत इमान्दारिता देखाउनुपर्ने कुरा स्व.ढुंगानाबाट सिक्नुपर्ने बताए । उनले उदार प्रजातन्त्रमा विश्वास गर्ने मान्छेले उहाँबाट निष्ठा सिक्न जरुरी रहेको बताए ।