३ मंसिर २०८१, सोमबार

उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडा गर्न निर्वाचन आयोगको निर्देशन

प्रकाशित मिति :  18 November, 2024 5:33 pm


काठमाडाैँ । निर्वाचन आयोगले मंसिर १६ गते आइतबार सम्पन्न हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, र भयरहित बनाउन प्रभावकारी सुरक्षा योजना लागू गर्ने निर्णय गरेको छ। आयोगको मंसिर २ गते बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सुरक्षा व्यवस्थाको समीक्षा गर्दै आवश्यक निर्देशनहरू जारी गरेको छ।

निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग ऐन, २०७३ अनुसार गृह मन्त्रालयले प्रस्तुत गरेको सुरक्षा योजना कार्यान्वयन गर्न निर्देशन दिइएको छ। ३३ जिल्लाका ४४ स्थानीय तहमा हुने उपनिर्वाचनलाई मध्यनजर गर्दै सार्वजनिक यातायात व्यवस्थापन, मतदानको दिन मतपेटिकाको सुरक्षासहितको ढुवानी, र प्रचारप्रसार निषेध अवधि पालना गराउने विषयमा विशेष प्रबन्ध गरिएको छ।

मतदानको दिन राष्ट्रिय राजमार्गमा सार्वजनिक यातायात सञ्चालन सुनिश्चित गर्दै मतदाताको आवागमन सहज बनाउने योजना अघि सारिएको छ। यस्तै, मंसिर ५ देखि १६ गतेसम्म उपनिर्वाचन क्षेत्रभित्र मदिराजन्य पदार्थको विक्री, वितरण र सेवनमा प्रतिबन्ध लगाइनेछ।

निर्वाचन आचारसंहिताको पालना गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई कडा निर्देशन दिइएको छ। आचारसंहिताको उल्लङ्घन गर्ने व्यक्तिलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ बमोजिम तत्काल कारबाही गरिने आयोगले स्पष्ट पारेको छ।

निर्वाचन आयोगले यो उपनिर्वाचनलाई निष्पक्ष र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबै निकायहरूलाई समन्वयात्मक र जिम्मेवार भूमिकामा खट्न आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !