४ मंसिर २०८१, मंगलबार

स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै अखिल क्रान्तिकारीका नेताहरू आमरण अनसनमा

प्रकाशित मिति :  19 November, 2024 1:52 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको स्थगित बन्दसत्र मंसिर २३ गते गर्नुपर्ने माग गर्दै विद्यार्थी नेताहरू अनसन बसेका छन् ।

विद्यार्थी नेताहरुले स्थगित बन्दसत्र मंसिरको २३ गते सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा मंगलवार अनसन सुरू गरेका हुन् । स्थगित बन्दसत्र मंसिर २३ र २४ गते काठमाडाैँमा गर्न पार्टीले निर्देशन दिएको भएपनि पछिल्लो समय नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट नभई पार्टीले तोकिदिने बहस सुरू भएको भन्दै अखिल क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रिय कार्यालय प्रमुख केशव रावलसहित विद्यार्थी नेताहरुले अनसन सुरू गरेका हुन् ।

सम्मेलनको स्थगित प्रक्रिया शुरु गर्न तीन हप्ता समेत बाँकी नरहेको अवस्थामा पार्टीले कुनैपनि प्रकारको सर्कुलर जारी नगर्दा सम्मेलनको बन्दसत्र झन अनिश्चित भएको अखिल क्रान्तिकारीका निःवर्तमान केन्द्रिय उपाध्यक्ष रावलले बताए । उनले सम्मेलनको बन्दसत्र मंसिर २३ मै सुरू गर्न र नेतृत्व चयनको कुरा निर्वाचनको माध्यमबाट सुनिश्चित गर्नका लागि आमरण अनसन शुरु गरेको बताए ।

उनकाअनुसार स्थगित बन्दसत्रको बाँकी प्रक्रिया पूर्वनिर्धारित समयमै गर्न र नेतृत्व चयन समेत प्रतिनिधिले निर्वाचन प्रक्रियाबाट गर्न अनसनरत विद्यार्थीको माग छ । पार्टी कार्यालयमा आमरण अनसन बस्नेहरूमा रावलसहित निःवर्तमान केन्द्रिय सदस्य जनक ढुंगाना र निःवर्तमान केन्द्रिय सदस्य खगेन्द्र रावल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !