सडकको क्षमता भन्दाबढी भार बोक्न नदिने गरी कानूनी प्रबन्ध गर्दैछौँः मन्त्री दाहाल
काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडकको क्षमता भन्दा बढी भार बोक्न नदिने गरी कानूनी प्रवन्ध गर्न लागिएको बताएका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले धादिङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार ४९ टन भन्दा बढी भार बोकेर सडकमा गुडाउन नपाउने कार्यविधि बनाएको बताए । उनले ४९ टन भन्दा बढी बोकेर हिँड्दा के कारबाही हुने भन्ने स्पष्टता नरहेकाले सरकारले अहिले त्यसलाई पूर्ण रुपमा रोक लगाउने गरी आवश्यक प्रवन्ध गर्न लागेको बताए ।
उनले छिमेकी मुलुकहरूको बाटोबाट आएका सामानहरुलाई सीमानाकामै निरीक्षण गरी सडकको भार क्षमता भन्दा बढी बोक्न नदिने बताए । उनले सरकारले अब कडाईका साथ नियमावलीलाई लागू गर्ने र आवश्यक परे कानूनलाई पनि संशोधन गरेर अघि बढ्ने सोच बनाएको उल्लेख गरे ।
मन्त्री दाहालले सरकारले विकासका कामहरू अघि बढाउने हुटहुटी रहेको बताए ।उनले सडक सञ्जाल व्यवस्थित गर्न सरकारले आवश्यक काम गरिरहेको बताए ।