तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकका अनुसासर अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ४२ अर्ब ४४ करोड रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब ४ अर्ब ७ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।