उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति
काठमाडौँ । आगामी मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ को पर्यवेक्षणका लागि निर्वाचन आयोगले ९ वटा राष्ट्रिय संस्थालाई अनुमति प्रदान गरेको छ। आयोगले गत कार्तिक २६ देखि ३० गतेसम्म इच्छुक संस्थाहरूबाट आवेदन माग गरेको थियो। आयोगले मङ्सिर ४ गते बसेको बैठकबाट सो निर्णय गरेको हो।
निर्देशिका अनुसार, पर्यवेक्षणका लागि खटाइने व्यक्तिहरू योग्यता पुगेका हुनुपर्ने र मतदान केन्द्रमा अधिकतम दुईजना मात्र खटिन पाउने छन्। आयोगले पर्यवेक्षकहरूलाई परिचयपत्र वितरण गर्नेछ भने पर्यवेक्षणसम्बन्धी प्रशिक्षण काठमाडौँ उपत्यकाका लागि सचिवालय र अन्य जिल्लाहरूका लागि सम्बन्धित प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत हुनेछ।
पर्यवेक्षणका लागि अनुमति प्राप्त गर्नेमा नेपाल जन प्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार संगठन, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, केन्द्रीय बहिरा क्याम्पस छन् ।
त्यस्तै सुशासन महासंघ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्रले पनि पर्यवेक्षण गर्न अनुमति पाएका छन् ।