रास्वपाको सहकारी बचतकर्ता संरक्षण अभियानप्रति ऐक्यबद्धता, शान्तिपूर्ण सहभागिताको आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानद्वारा मंसिर ५ गते काठमाडौँ केन्द्रित शान्तिपूर्ण आन्दोलनको आयोजनामा ऐक्यबद्धता जनाउने भएकाे छ । पार्टीका प्रवक्ता (कार्यवाहक) मनिष झाद्वारा जारी विज्ञप्तिमा सहकारी क्षेत्रको समस्याको मूल कारण फितलो कानुनी संरचना, कानुनको इमान्दार कार्यान्वयनको अभाव र राज्यको असहयोग रहेको उल्लेख छ।
विज्ञप्तिमा सहकारी सञ्चालकहरूले गरेका अपचलन र उनीहरूलाई प्राप्त राजनीतिक संरक्षणका कारण सहकारी क्षेत्रमा उत्पन्न संकटको समाधानमा चुनौती थपिएको ठहर गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले २०८० माघमा प्रधानमन्त्रीलाई बुझाएको ‘सहकारी एवं लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधानका नीतिगत उपाय र योजना’ प्रतिवेदनमा समेत यस्ता समस्या समाधानका उपायहरू सुझाइएको थियो।
सहकारी बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यले आयोजित अभियानमा गैर-दलीय पहिचानका साथ शान्तिपूर्ण सहभागिताका लागि आम नागरिकलाई अनुरोध गर्दै पार्टीले यस विषयलाई गम्भीर रुपमा लिएको प्रस्ट पारेको छ।
सहकारी क्षेत्रमा व्याप्त समस्याको समाधानका लागि सरकारलाई दबाब दिन र सहकारी बचतकर्ताको रकम सुरक्षाका लागि सबैको एकताबद्ध सहयोग आवश्यक रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले अभियान सफल बनाउन सबैमा आह्वान गरेको छ।