उपनिर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशित, प्रचारप्रसारका लागि समयसीमा तोकियो
काठमाडाैँ । निर्वाचन आयोगले मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । यस उपनिर्वाचनमा ४४ रिक्त पदका लागि राजनीतिक दलका २८९ जना उम्मेदवार र १२१ जना स्वतन्त्र उम्मेदवार गरी कुल ४१० जनाले मनोनयनपत्र दर्ता गरेका थिए।
यसमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी निर्विरोध निर्वाचित भएका छन्। यस्तै, रुकुम (पूर्वी भाग) जिल्लाको पुवा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार श्री जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।
स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा राजनीतिक दलबाट उम्मेदवार दर्ता गरिएका छन्। यसरी दर्ता भएका उम्मेदवारहरूको निर्वाचन चिह्न वितरण गरिएको छ। २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई ४१ स्थानका विभिन्न पदहरूको निर्वाचन चिह्न प्रदान गरिएको छ।
उम्मेदवारहरूले प्रचार प्रसारको कार्य मंसिर ६ गते (भाेलि)देखि मंसिर १३ गतेराति १२:०० बजेसम्म गर्न सक्नेछन्।