१८ मंसिर २०८१, मंगलबार

स्वास्थ्य शिविर र खेलाडी सम्मान गर्दै खुमा अर्याल फाउन्डेसनले मनायाे छैठौं स्थापना दिवस

प्रकाशित मिति :  21 November, 2024 1:43 pm


स्याङ्जा । खुमा अर्याल फाउन्डेसनले आफ्नो छैठौं स्थापना दिवसको अवसरमा गण्डकी मेडिकल कलेज पोखरा र जिल्ला रेडक्रस सोसाइटी स्याङ्जासँग सहकार्य गर्दै खुला रक्तदान र विशेषज्ञ सेवा सहितको निशुल्क स्वास्थ्य शिबिर एवं खेलाडी सम्मान कार्यक्रम आयोजना गरेको थियाे । यो कार्यक्रम भीरकाेट नगरपालिका वडा नम्बर ७ बलमाटा स्थित कालिका सामुदायिक क्याम्पसमा सम्पन्न भएको हो।

कार्यक्रममा ४५ पिन्ट रगत संकलन भएको थियो र ६६६ जनाले स्वास्थ्य लाभ लिएका छन्। गण्डकी मेडिकल कलेज पोखराका विशेषज्ञ डाक्टरहरूले जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्री रोग सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो ए-क्सरे सेवा, मुटुको भिडियो एक्सरे (इको) सेवा र फार्मेसी सेवा प्रदान गरेका थिए।

यसै क्रममा, युएईमा सम्पन्न एसिया छनोटको उपाधि बिजेता तथा २०२५ मा मलेसियामा हुने विश्वकप खेल खेल्नका लागि इतिहास रचेका स्याङ्जाका तीन नेपाली महिला क्रिकेटरलाई सम्मानित गरिएकाे थियाे । सम्मानित हुनेमा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर १ की ज्योत्सिना मरासिनी, १३ की सीमाना के.सी. र कुसुम गोदार रहेका छन्। तीनै खेलाडीलाई जनही एक लाख नगद र दोसल्ला सहित सम्मान पत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा स्याङ्जा जिल्ला क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले खुमा अर्याल फाउन्डेसनको योगदानको प्रशंसा गर्दै, यस सहयोगले स्याङ्जा क्रिकेटको प्रगति र विश्वकप जित्ने लक्ष्यलाई थप उर्जा दिएको बताए।

कार्यक्रममा भीरकोट, पुतलीबजार र अर्जुनचौपारी गाउँपालिकाका बिरामीहरूले लाभ लिएका थिए। जिल्ला समन्वय समिती सभापति प्रसाद जिटि, पुतलीबजार नगर प्रमुख तुलसी राम रेग्मी, अर्जुन चौपारी गाउँपालिका प्रमुख प्रकाश तिवारी लगायतका व्यक्तिहरूले फाउन्डेसनको सामाजिक कार्यको प्रशंसा गरेका थिए।



प्रतिक्रिया दिनुहोस !