जिल्ला स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस
दाङ । लुम्बिनी प्रदेशमा स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) कार्यान्वयनमा आएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका स्वास्थ्य कार्यालयमार्फत् मुटुको भल्व फेर्ने, क्यान्सर उपचार र मृगौला प्रत्यारोपण गर्ने बिरामीहरुको सुविधाका लागि सिफारिस दिन थालिएको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको, यसबाट बिरामी र तिनका परिवारका सदस्यहरुलाई सहज भएको बताए । सेवा प्रवाहलाई सरल र चुस्त बनाउनेगरी प्रदेश मन्त्रिपरिषद बैठकबाट स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ (पहिलो संशोधन २०८१) लाई पारित गर्ने निर्णय गरेको थियो ।
यसअघि प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपचार सुविधाको सिफारिस हुँदै आएको थियो । अबदेखि सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न थालिएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताए । ‘‘प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयनमा आइसक्यो । झुक्किएर निर्देशनालयमा नआउनुहोला । सबै काम जिल्ला तहबाटै हुन्छ’‘, उहाँले भन्नुभयो, ‘‘एउटा सिफारिस बनाउन टाढा आउनुपर्ने बाध्यताको अन्त्य गरेका छौं । यो निर्णयले सेवा लिन सहज हुने छ ।’‘
कतिपय बिरामीका आफन्तहरु झुक्किएर अहिले पनि स्वास्थ्य निर्देशनालय आउने गरेका छन् । तर, स्वास्थ्य उपचार विशेष आर्थिक सुविधाका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट सिफारिस गर्न सुरु गरिएको स्वास्थ्य निर्देशक डा. विनोद गिरीले जानकारी दिए । ‘‘कतिपय स्थानीय तहले सोझै प्रदेश स्वास्थ्य निर्देशनालयमा सिफारिस पत्र पठाउने गर्नु भएको छ । अब निर्देशनालय होइन, स्वास्थ्य कार्यालयमा स्थानीय तहले पत्र पठाउनुपर्ने हुन्छ‘’, निर्देशक डा. गिरीले भने, ‘‘बिरामीका आफन्तहरु अलमलमा पर्नु भएन । अब सिधै जिल्लामा रहेको स्वास्थ्य कार्यालयबाट सिफारिस हुन्छ ।’‘
लुम्बिनी प्रदेश सरकारले मुटुको भल्व फेर्न, क्यान्सरको उपचार र मृगौला प्रत्यारोपणका लागि प्रति बिरामी दुई लाख रुपैयाँ स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा प्रदान गर्दै आएको छ ।