७ मंसिर २०८१, शुक्रबार

नदी तथा खोलाहरूको पानी सुक्दै जाँदा नेपाली माछा संरक्षणमा समस्या भएको सरोकारवालाहरूकाे भनाइ

प्रकाशित मिति :  22 November, 2024 2:31 pm


काठमाडाैँ । नदी तथा खोलाहरूको पानी सुक्दै जाँदा नेपाली माछा संरक्षणमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् ।

बिहीवार विश्व मस्त्य दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।उनीहरूले पछिल्लो समय प्राकृतिक रूपमा खोला तथा नदीमा पाउने माछाहरू लोप हुँदै गएको बताए । उनीहरूले खोला तथा नदीहरुमा जलविद्युत उत्पादन लगायत पानी कटानको कारण माछाहरुको बासस्थान मासिएको बताएका हुन् ।

त्रिभूवन विश्व विद्यालय प्राणीशास्त्र केन्द्रिय विभागका अध्यापक सन्तोषी श्रेष्ठले माछाहरू दिनप्रतिदिन लोप हुँदै गइरहेको बताइन् । उनले माछाहरू लोप हुनुको प्रमुख कारण बासस्थान मासिनु रहेको बताइन् । उनले पछिल्लो समय माछाको खोला, नदीको बासस्थान मासिँदै गएको उल्लेख गर्दै नेपाली माछाहरू हुने खोला तथा नदीहरूमा पछिल्लो समय पानी नभएको बताइन् ।

उनले माछाहरूको प्रजननका लागि आफ्नै बासस्थान हुने भएपनि बासस्थान बिग्रदैँ गएकाले नेपाली माछा लोप हुँदै गएको बताइन् । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले २५२ प्रजातिका माछामध्ये ४५ बढी प्रजातिका माछा नेपालमा मात्रै पाइने बताए । उनले नेपालमा मात्रै १ लाख १५ हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको बताए । उनले नेपाल माछामा आत्मनिभर जस्तै रहेको भन्दै करिव ४ हजार मेट्रिक टन माछा मात्रै बाहिरबाट आयात हुने गरेको बताए । उनले ९५ प्रतिशत मुलुकभित्रै उत्पादन हुने उल्लेख गरे ।

उनले नेपाली माछा उत्पादन वृद्धिमा लाग्न र प्राकृतिक जलाशयलाई संरक्षण गरेर जलाशयमा आश्रित रहेका जलचरलाई बढवा दिन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !