क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई चीनद्वारा विद्युतीय सवारीसाधन उपहार
काठमाडौँ। चीन सरकारले काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारीसाधन उपहार दिएको छ ।
शनिवार नेपालका लािग चिनियाँ राजदुत छन सोङले एक कार्यक्रमकाबीच विद्युतीय सवारीसाधन चिकित्सालयलाई हस्तान्तरण गरेका हुन्। विद्युतीय सवारी हस्तान्तरण गर्दै राजदुत सोङले चीन र नेपालको सम्बन्ध थप सुदृढ बनाउन चीन प्रतिवद्ध रहेको बताए।
कार्यक्रममा उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विश्वमै चर्चाको विषय बनेको कार्बन्डाईअक्साइड कम उत्सर्जन गर्नको लागि विद्युतीय गाडीहरुको ठूलो भुमिका रहेको उल्लेख गर्दै सहयोगा लागि चीन सरकारलाई धन्यावाद दिए।
उनले चिकित्सालयलाई अगाडि बढाउनका लागि निरन्तर सहयोगहरु आइरहेको उल्लेख गर्दै चिकित्सालयले टोलवासीलाई मात्र नभइ काठमाडौं जिल्लाभर सेवा बिस्तार गर्नुपर्ने बताए । नागरिकको सेवामा प्रभावकारी भएर लाग्न चिकित्सालयका प्रतिनिधिहरुलाई निर्देशन समेत दिए।
उनले भने, “यस चिकित्सालयले टोलबासीलाई मात्र नभएर काठमाडौंको सम्पुर्ण उत्तर पश्चिमतिरको क्षेत्रका नागरिकका लागि सेवा बिस्तार गरोस् । सेवा सुविधालाई थप प्रभावकारी बनाओस् भन्ने शुभकामना दिन चाहन्छु । यसका लागि सबै लाग्नुहोस् ।”
उनले वि.सं. २०१३ सालमा समान्य उपचारबाट शुरु गरिएको चिकित्सालय आजको दिनसम्म आईपुग्दा अस्पतालको रुपमा विकास हुनु खुशीको कुरा भएको बताए।
—न्युज एजेन्सी नेपाल