नेपाली कांग्रेस स्याङ्जाले क्रिकेट खेलाडीलाई गर्यो नगद सहित सम्मान
स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले आईसीसी यु–१९ महिला विश्वकप खेल्ने स्याङ्जाका खेलाडीहरूलाई नगदसहित सम्मान गरेको छ। प्रत्येक खेलाडीलाई १५ हजार रुपैयाँ र जिल्ला क्रिकेट संघ स्याङ्जालाई १० हजार रुपैयाँ प्रदान गरिएको छ।
पार्टीको कार्यालयमा आयोजित कार्यक्रममा पुतलीबजार वडा नम्बर १ की ज्योत्सनिका मरासिनी, वडा नम्बर १३ की सिमाना केसी र कुसुम गोदारलाई सम्मान गरिएको हो। साथमा, जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई पनि योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सभापति एवं संघीय सांसद राजु थापाले महिला खेलाडीहरूको उपलब्धिलाई राष्ट्रिय गौरवको विषय बताउँदै स्याङ्जाको मात्र नभई देशकै गहना भएको उल्लेख गरे ।
नेपाली टोलीले युएईमा सम्पन्न विश्वकप एसिया छनोटमा घरेलु टोलीलाई पराजित गर्दै आईसीसी महिला यु–१९ टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको हो। प्रतियोगिता मलेसियामा २०२५ को जनवरी १८ देखि फेब्रुअरी २ सम्म आयोजना हुनेछ।