९ मंसिर २०८१, आइतबार

सोमवारदेखि सुरू हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन

प्रकाशित मिति :  24 November, 2024 2:46 pm


काठमाडाैँ । सूर्य नेपाल गल्फ टुर २०२४\०२५ सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन सोमवारदेखि गोकर्ण गल्फ क्लवमा सुरू हुने भएको छ । 

नेपालका शिर्ष प्रोफेसनल र एमेच्योर गल्फरको प्रतिष्पर्धा गर्ने सूर्य नेपाल गल्फर टुरको २०२४\२५ सिजन सोमवारदेखि शुरु हुन लागेको हो । सूर्य नेपाल गल्फ टुरका कुल आठ प्रतियोगिता काठमाडौँ, पोखरा र धरानमा हुन्छन्, तीमध्ये सबैभन्दा पहिलो प्रतिष्पर्धा सेन्ट्रल ओपन काठमाडौँबाट सुरू हुन लागेको हो । यस प्रतियोगितामा कुल ७२ होलमा प्रतिष्पर्धा हुनेछ । दुई चरण (३६ होल) को खेलपछि कट नियम लागू हुन्छन् ।

शिर्ष २१ प्रो.गल्फरले फाइनल चरण (३६ होल) का लागि प्रतिष्पर्धा गर्छन् ।  कट नियम पार गरेका शिर्ष ६ प्रो गल्फरले पनि दोस्रो चरणको यात्रा तय गर्नेछन् । कुल ३३ प्रोफेसनल र सात एमेच्योर गल्फरले सेन्ट्रल ओपनमा प्रतिष्पर्धा गर्ने भएका छन् । डिफेन्डिङ च्याम्पियन एमेच्योर गल्फर सद्भाव आचार्यसहित प्रो. गल्फर भूवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा, रवि खड्का, तोरण शाही र कुमार कामी सेन्ट्रल ओपनको मुख्य दाबेदार हुन् । सेन्ट्रल ओपनको विजेताले एक लाख ५० हजार, उपविजेता एक लाख र तेस्रो हुने गल्फरले ७५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । 

शिर्ष २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्ने प्रतियोगिताको कुल पुरस्कार राशि आठ लाख ८२ हजार रुपैयाँ रहेको छ । नेपाल प्रोफेसनल गल्फर एशोसिएशनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यसपल्ट सूर्य नेपाल गल्फ टुर १८ औं वर्षमा पुगेको र यस प्रतियोगिता नेपाली गल्फरका लागि राम्रो माध्यम बनेको बताए ।



प्रतिक्रिया दिनुहोस !