९ मंसिर २०८१, आइतबार

निर्वाचन प्रचारमा आचारसंहिता विपरीत सवारी साधनको प्रयोग नगर्न निर्वाचन आयोगको निर्देशन

प्रकाशित मिति :  24 November, 2024 4:41 pm


काठमाडौँ । आसन्न स्थानीय तह उपनिर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले सवारी साधनको दुरुपयोग रोक्न कडा निर्देशन दिएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनको प्रचार प्रसार प्रारम्भ भएसँगै लाउड स्पीकरसहित सवारी साधन प्रयोग गरी प्रचार गरिएको सूचना प्राप्त भएपछि आयोगले सम्बन्धित निकायलाई तत्काल कदम चाल्न निर्देशन दिएको हो।

आयोगका अनुसार निर्वाचन आचारसंहिताको उल्लंघन गरी सवारी साधन प्रयोग गर्ने कार्य रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकिएको छ। यस्तो गतिविधि नियन्त्रण गर्न सवारी साधन कब्जामा लिई कानूनी कारबाही गर्ने अधिकार प्रदान गरिएको छ। यसका साथै आयोगले राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई निर्वाचन आचारसंहिताको पालनामा विशेष ध्यान दिन आग्रह गरेको छ।

निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २५(१) अनुसार आयोगले तोकेको सीमाभन्दा बढी सवारी साधनको प्रयोग गर्न नपाइने कानूनी व्यवस्था छ। यो प्रावधान उल्लंघन गर्ने व्यक्तिलाई रु. २५,००० सम्म जरिवाना गर्न सकिने तथा प्रयोगमा रहेका सवारी साधनलाई निर्वाचन अवधिभरका लागि कब्जामा लिन सकिने प्रावधान रहेको आयोगले स्मरण गराएको छ।

आयोगकी सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले आचारसंहिताको उल्लंघनका घटनामा कडा कारबाही गरिने चेतावनी दिँदै निर्वाचन प्रक्रियाको निष्पक्षता सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताएकी छिन्। निर्वाचन प्रचारमा सवारी साधन प्रयोग गर्दा आचारसंहिताको पूर्ण पालन गर्न उनले सम्बन्धित पक्षलाई पुनः सचेत गराएकी छिन्।



प्रतिक्रिया दिनुहोस !