१० मंसिर २०८१, सोमबार

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

प्रकाशित मिति :  25 November, 2024 1:59 pm


काठमाडाैँ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ ।

सोमवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गरेका हुन् । अस्पतालको बन्न लागेको आधुनिक र सुविधा सम्पन्न भवन दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री सिंहले यस अस्पतालले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

अस्पतालले उपत्यकाको सम्पर्कबाट टाढा र विकटका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने उनकाे भनाइ छ । उनले नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल क्लिनिकका रूपमा सुरू भएको स्मरण गराउँदै सुविधा सम्पन्न र आधुनिक अस्पतालको रुपमा स्थापित भएकोमा खुशी व्यक्त गरे । उनले आफू विरामी नभईकन स्वास्थ्यको महत्व बुझ्न नसकिने उल्लेख गर्दै विरामी हुनुभन्दा अगाडि नै सबैले स्वास्थ्यप्रति गम्भिर हुनुपर्नेमा जोड दिए । 

अस्पतालको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिकरूपमा कमजोर नागरिकका लागि विशिष्टिकृत स्वास्थ्यसेवामा पहुँच पुगाउने विश्वास लिइएको छ । -न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !