सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता
काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष ओमप्रसाद दाहालले सिटिइभिटी तालाबन्दी निषेधित क्षेत्र घोषणा गरेका छन् ।सोमवार पदभार ग्रहण गर्दै उनले सो घोषणा गरेका हुन् ।
उनले आजबाटै तालाबन्दी निषेध क्षेत्र घोषणा गर्दै सबैले सिटिइभिटीका श्रीवृद्धिमा लाग्न आग्रह गरे । उनले सुशासनलाई मुल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्ने बताए । उनले बै सरोकारवाला पक्षसँग बसेर सिटिइभिटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरु खोजि त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने आवश्यकता औंल्याए ।
देशभरका आम युवाहरुमा प्राविधिक शिक्षाको पहुँच पु¥याउन सात वटै प्रदेशमा प्राविधिक शिक्षाप्रति अवेरनेस क्याम्पियन गर्नुपर्ने बताए । सिटिइभिटीप्रति जायज माग छन् भने त्यसलाई वार्ता र संवादबाट समाधान गर्ने आश्वासन दिए ।
उनले भने,”सुशासनलाई मुल मन्त्र मानेर सरोकारवाला पक्षसँग समन्वय, सहकार्य गरी टिममा काम गर्नेछु । सिटिइभिटीप्रति बाहिर आवाजहरु सुन्दा यसमा बादल लागेको छ । विषयहरु पुनरावलोकन भएका छैनन्, नतिजा कमजोर छ । जिम्मेवार साथीहरु आफ्नो कार्यमा राम्रोसँग जिम्मेवारी ननिभाएको सुनिन थालेको छ । यसकारण सीप हातमा रोजगारी साथमा भन्ने यति मिठो स्लोगन कतै अफ्ठ्यारोमा छैन भन्ने प्रश्न उठेको छ । यसकारण हामी सबै सरोकारवाला पक्षसँग बसेर सिटिइभिटीको वर्तमान अवस्था, समस्या र समाधानका उपायहरू खोजि त्यसको आधारमा गुरुयोजना बनाइ अहोरात्र खट्नुपर्ने देखेको छु । यसको लागि नतिजा देखिने गरी काम गर्नुपर्छ ।”
उनले सिटिइभिटीमा कर्मचारी, प्रशिक्षार्थी, आंगिक सम्बन्धन प्राप्त शिक्षालयका समस्याहरुलाई प्राथमिकताका आधारमा अघि बढाइ नीतिगत र आर्थिक प्रशासनिक समस्याहरू समाधान गर्न लागि पर्ने प्रतिवद्धता जनाए ।